काठमाडौं – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ६० लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार कुल ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लकइन अवधि आगामी चैत २८ गतेबाट समाप्त हुने भएको हो।
लकइन अवधि सकिन लागेका शेयरमध्ये ५३ लाख २० हजार कित्ता संस्थापक समूहको, ३२ हजार २८ कित्ता कम्पनीका कर्मचारीको र ६ लाख ७८ हजार ६०० कित्ता स्थानीय बासिन्दाको शेयर रहेको कम्पनीले जनाएको छ।
नेपालको पूँजीबजारसम्बन्धी प्रावधानअनुसार कुनै पनि कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको मितिबाट संस्थापक, कर्मचारी तथा स्थानीयको शेयर ३ वर्षसम्म लकइन अवधिमा राख्नुपर्ने व्यवस्था रहेको छ।
यद्यपि संस्थापक शेयरधनीमध्ये कम्पनीको सञ्चालक समितिमा रहेका सदस्य तथा उच्च पदमा कार्यरत कर्मचारीले भने आफ्नो पदमा रहँदासम्म तथा पदबाट हटेको एक वर्षसम्म शेयर खरिद–बिक्री गर्न नपाउने प्रावधान रहेको छ।




