सन् १९२० तिरको दशकमा नेपालमा राणाहरुले भित्र्याएको क्रिकेट अब केवल खेल गतिविधिमा सीमित छैन । पछिल्ला वर्षहरूमा क्रिकेटमा भएको लगानीले यसलाई उदीयमान खेल–उद्योगका रूपमा स्थापित गर्न थालेको छ । सरकारी बजेट, अन्तर्राष्ट्रिय अनुदान, निजी क्षेत्रको पूँजी, फ्रेन्चाइज लिग र निजी क्रिकेट एकेडेमीमार्फत भइरहेको लगानीले क्रिकेटलाई अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिरहेको छ ।
आशातीत रुपमा सरकारी लगानी हुन नसके पनी सरकारको भूमिका मुख्यतः क्रिकेट पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित रहेको देखिन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान निर्माण, फ्लडलाइट, दर्शक क्षमता विस्तार र सहायक संरचनामा ठूलो बजेट विनियोजन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ ।
हालका वर्षहरूमा विभिन्न क्रिकेट मैदान तथा रंगशालाका लागि बजेट विनियोजन गर्ने गरिए पनि त्यतीले मात्रै नेपालको क्रिकेट विकासमा पर्याप्त हुने देखिदैन ।
यद्यपी हालसम्म गरिएको लगानीले सिमित मात्रामा निर्माण क्षेत्र, श्रम बजार र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ । दीर्घकालमा अन्तर्राष्ट्रिय खेल आयोजना ठोस रणनीतिक योजना मार्फत कार्यान्वयन गर्न सकेमा पर्यटन, होटल, यातायात र सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
क्यान र अन्तर्राष्ट्रिय अनुदान: क्रिकेटको वित्तीय मेरुदण्ड
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक बजेटको ठूलो हिस्सा अझै पनि अन्तर्राष्ट्रिय क्रिकेट निकायबाट प्राप्त अनुदानमा निर्भर छ । एशियाली र विश्व क्रिकेट निकायबाट प्राप्त अनुदानले राष्ट्रिय टिमको तयारी, घरेलु प्रतियोगिता, खेलाडी तलब भत्ता र प्रशासनिक खर्च धानिरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार, यो मोडलले तत्काल सञ्चालन सहज बनाएको भए पनि दीर्घकालमा आत्मनिर्भर आम्दानी स्रोत विस्तार गर्नुपर्ने चुनौती कायमै छ ।
निजी क्षेत्र र कर्पोरेट लगानी: ब्रान्ड र बैंकको बढ्दो उपस्थिति
पछिल्ला वर्षहरूमा बैंक, वित्तीय संस्था र ठूला कर्पोरेट हाउसहरू क्रिकेटतर्फ आकर्षित भएका छन् ।
टाइटल स्पोन्सरशिप, जर्सी प्रायोजन, विज्ञापन अधिकार र ब्रान्डिङमार्फत करोडौँ रुपैयाँ निजी पूँजी क्रिकेटमा प्रवेश गरिरहेको छ ।विशेषगरी फ्रेन्चाइज आधारित नेपाल प्रिमियर लिग निजी क्षेत्रलाई प्रत्यक्ष लगानीको अवसर दिएकादिएको छ । फ्रेन्चाइज शुल्क, खेलाडी तलब, व्यवस्थापन खर्च र मार्केटिङमा खर्च भएको रकमले क्रिकेटलाई कमर्सियल इकोसिस्टममा रूपान्तरण गरिरहेको छ ।
फ्रेन्चाइज लिग: खेलसँगै ठूलो आर्थिक गतिविधि
फ्रेन्चाइज मोडलमा आधारित लिगले क्रिकेटमा नयाँ आर्थिक चक्र सिर्जना गरेका छन् ।
टिम बिक्री, प्रसारण अधिकार, कमर्सियल राइट्स र स्पोन्सरशिपबाट क्यानले ठूलो राजस्व आर्जन गरिरहेको छ ।
यससँगै होटल, इभेन्ट म्यानेजमेन्ट, सुरक्षाकर्मी, प्रसारण प्राविधिक, यातायात र साना व्यवसायसम्म आर्थिक गतिविधि फैलिएको छ ।
निजी क्रिकेट एकेडेमी: ग्रासरुटमा भइरहेको वास्तविक लगानी
क्रिकेटको आधार तहमा निजी क्रिकेट एकेडेमीहरू महत्वपूर्ण लगानीकर्ता बनेका छन् ।
अभिभावकबाट लिइने प्रशिक्षण शुल्क, निजी लगानीकर्ताको पूँजी र साना प्रायोजनमार्फत यी एकेडेमीहरू सञ्चालन भइरहेका छन् ।नेट, टर्फ, उपकरण, प्रशिक्षक र फिटनेस संरचनामा भएको खर्चलाई मानव पूँजीमा गरिएको लगानीका रूपमा हेरिन्छ । यही तहबाट राष्ट्रिय टिमका लागि खेलाडी उत्पादन हुने भएकाले यसको आर्थिक र रणनीतिक महत्व अझ बढेको छ ।
अर्थतन्त्रमा प्रभाव: रोजगारीदेखि खेल पर्यटनसम्म
क्रिकेटमा भएको लगानीले प्रत्यक्ष रोजगारी (खेलाडी, कोच, स्टाफ), अप्रत्यक्ष रोजगारी (होटल, यातायात, मिडिया, सेवा) घरेलु उपभोग र स्थानीय व्यवसाय, अन्तर्राष्ट्रिय पहिचान र खेल पर्यटन जस्ता क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको छ ।
नेपालमा क्रिकेटमा भइरहेको लगानी अब खर्च मात्र होइन, आर्थिक सम्भावनाको क्षेत्र बनेको छ । सरकारी पूर्वाधार, अन्तर्राष्ट्रिय अनुदान, निजी कर्पोरेट पूँजी र निजी एकेडेमीको संयुक्त भूमिकाले क्रिकेटलाई खेलबाट उद्योगतर्फ लैजाँदै छ ।
अब चुनौती भनेको पारदर्शिता, दीगो वित्तीय मोडल र ग्रासरुटदेखि अन्तर्राष्ट्रिय स्तरसम्म जोडिने एकीकृत आर्थिक रणनीति निर्माण गर्नु हो । त्यसो गर्न सके क्रिकेट नेपालका लागि आर्थिक, सामाजिक र कूटनीतिक पूँजी बन्न सक्ने देखिन्छ ।
हालै भारत र श्रीलङकामा संयुक्त रुपामा आयोजना भइरहेको टि ट्वान्टी विश्वकपमा नेपालले गरेको प्रदर्शन लाई लिएर विश्वभरबाट पाएको चर्चाले पनि नेपालमा अव क्रिकेटलाई अर्थतन्त्रसँग जोड्दै लगानी नीजि सरकारी साझेदारी मोडेलमा अगाडि बढाउन सके ठुलो फड्को मार्न सक्ने देखिन्छ ।




