काठमाडौं — तीनवटै सरकारी बैंकका सञ्चालक समिति अध्यक्षले पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा डिमप्रसाद पौडेल, देवकुमार ढकाल र डा. डिल्लीराज शर्मा रहेका छन्।
स्रोतका अनुसार सरकारले अर्थ मन्त्रालयमा बोलाएर राजीनामा दिन आग्रह गरेपछि उनीहरूले पद त्यागेका हुन्।
यससँगै राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सञ्चालक समिति सदस्यहरूले पनि राजीनामा दिएका छन्। बैंकका सञ्चालक समितिमा थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, सूर्यबहादुर राना र हरिकुमार सिलवाल सदस्यका रूपमा रहेका थिए।
देवकुमार ढकाल नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा कार्यरत थिए। उनलाई सरकारले गत साउन २ गते राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्त गरेको थियो। त्यसैगरी डा. डिल्लीराज शर्मा भदौ १८ गते स्वतन्त्र सञ्चालक नियुक्त भएपछि दुई दिनमै नेपाल बैंक लिमिटेडको अध्यक्ष बनेका थिए।
त्यस्तै सरकारले गत भदौ १९ गते डिमप्रसाद पौडेल लाई सञ्चालक समिति सदस्य नियुक्त गरी पछि कृषि विकास बैंक लिमिटेडको अध्यक्ष बनाएको थियो।
सरकारले वैशाख १९ गते जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत विभिन्न राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेशबाट १०८ वटा निकायका १ हजार ५९४ पदाधिकारीको नियुक्ति खारेज भएको जनाइएको छ।
यद्यपि नेपाल राष्ट्र बैंक ऐनलाई अध्यादेशमा समावेश नगरिएकाले बैंकिङ क्षेत्रका केही नियुक्ति सुरक्षित रहेको बताइएको छ। सरकारले गभर्नर डा. विश्वनाथ पौडेल बाहेक अधिकांश सरकारी नियुक्ति खारेज गरेको जनाएको छ।




