
काठमाडौं –
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दै लगातार पाँचौँ कारोबार दिन पनि ओरालो लागेको छ। बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार नेप्से परिसूचक १.०४ अंकले घटेर २,५५७.३१ विन्दुमा बन्द भयो। यसैगरी सेन्सेटिभ इण्डेक्स ०.५४ अंक, फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले घटेका छन्।
बजारमा बिहीबार ३४८ वटा स्टकको ५२ हजार ५७५ पटक कारोबार भयो। यस क्रममा १ करोड ६ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँ पुगेको छ। बुधबार भने ४ अर्ब ७७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
सर्वोत्तम पेन्ट्सको सकारात्मक सर्किट कायमै
बिहीबार सर्वोत्तम पेन्ट्सको शेयरमूल्य लगातार ११औँ कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य १८१ रुपैयाँ ९० पैसा बढेर १ हजार ३९४ रुपैयाँ ८० पैसा कायम भएको छ।
घोराही सिमेन्ट इण्डष्ट्रिको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढी उकालो लागेको छ। त्यस्तै सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
यसको विपरीत अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९.४५ प्रतिशतले घटेको छ, जुन दिनको कारोबारमा सबैभन्दा ठूलो गिरावट हो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अगाडि रहेको छ। कम्पनीको २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
नेपाल एसबिआई बैंकको १६ करोड ५० लाख रुपैयाँभन्दा बढी र चिलिमे हाइड्रोपावर कम्पनीको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।बिहीबार नेप्सेका १३ उपसमूहमध्ये ८ वटा सूचक बढेका छन् भने ५ वटा घटेका छन्।
उत्पादन तथा प्रशोधन उपसमूह १.७५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उक्लिएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूह पनि सामान्य बढेका छन्।
यता म्युचुअल फण्ड उपसमूह ३.१२ प्रतिशतले घटेको छ। निर्जीवन बीमा उपसमूहमा २ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढी घटेको छ।






Leave a Reply