
काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयनका क्रममा बोर्डले कारोबार प्रणाली, लगानीकर्ता सुरक्षा, सूचकांक, सूचना प्रवाह र प्रविधिको प्रयोगलगायतका विषयमा सुधार गर्न निर्देशन दिएको हो।
बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को अनिवार्य सूचना प्रविधि तथा सुरक्षा परीक्षण गराई त्यसको प्रतिवेदन पेश गर्न नेप्सेलाई भनेको छ। हालको कारोबार प्रणालीमा देखिएका प्राविधिक समस्या पहिचान गरी प्रणालीलाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ।
शेयर बजारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएपछि बोर्डले यसको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, सम्भावित जोखिम र नेपालको आवश्यकताबारे अध्ययन गर्ने भएको छ। अध्ययन तथा स्पष्ट कानुनी व्यवस्था नआएसम्म टीएमएसमार्फत एआईमा आधारित प्रविधिको प्रयोग गरी कारोबार आदेश प्रविष्ट गर्न रोक लगाइएको छ। नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई कारोबार प्रक्रिया बुझाउन आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तरता दिन पनि निर्देशन दिइएको छ।
लगानीकर्ताको सुविधाका लागि मोबाइल एपमार्फत दोस्रो बजारमा शेयर कारोबार गर्न सकिने व्यवस्था मिलाउन तथा आफ्टर मार्केट अर्डर (एएमओ) प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेप्सेलाई भनिएको छ। टीएमएस खाता खोल्दा सी–केवाइसी प्रणालीबाट आवश्यक विवरण प्राप्त हुने गरी प्रणाली एकीकरणको तयारी अघि बढाउनसमेत निर्देशन दिइएको छ।
बोर्डले नेप्से सूचकांकको गणना प्रणालीमा समेत सुधार गर्ने भएको छ। नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सका रूपमा कायम राख्दै फ्री फ्लोट शेयरका आधारमा नयाँ बेन्चमार्क सूचकांक विकास गर्ने प्रक्रिया अघि बढाइनेछ। साथै, बजारमा लागू सर्किट ब्रेकरको व्यवस्था पुनरावलोकन गरिने भएको छ। विशेषगरी कारोबारको अन्तिम १५ मिनेटले सूचकांकमा पार्ने प्रभाव तथा दैनिक १५ प्रतिशतको सर्किट ब्रेकर आवश्यक रहे–नरहेको अध्ययन गरी एक महिनाभित्र सुझाव पेश गर्न नेप्सेलाई निर्देशन दिइएको छ।
सूचीकृत कम्पनीको वर्गीकरणलाई पनि वित्तीय अवस्था, तरलता र संस्थागत सुशासनलगायतका आधारमा थप व्यवस्थित बनाउने तयारी गरिएको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेप्से ३० र नेप्से हाई क्यापजस्ता थप सूचकांक निर्माणका लागि सम्बन्धित संस्थासँग सहकार्य गर्न बोर्डले निर्देशन दिएको छ।
त्यस्तै, हाल सञ्चालनमा रहेको सेन्सेटिभ इन्डेक्सको कानुनी तथा प्रक्रियागत पक्ष पुनरावलोकन गरिने भएको छ। नयाँ कम्पनीको शेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि मूल्य निर्धारण गर्ने विधिलाई वैज्ञानिक र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन प्रक्रिया अघि बढाइनेछ।
लामो समयदेखि शेयर कारोबार नभएका सूचीकृत कम्पनीको अवस्थाबारे अध्ययन गरी आवश्यक कानुनी सुधारका लागि सुझाव पेश गर्न पनि बोर्डले निर्देशन दिएको छ। सूचीकृत कम्पनीले सार्वजनिक गर्ने आधिकारिक सूचना एकै स्थानबाट प्राप्त गर्न सकिने गरी छुट्टै सूचना पोर्टल विकास गर्ने योजना पनि अघि सारिएको छ।
बोर्डले लगानीकर्ता शिक्षा र वित्तीय साक्षरतामा समेत जोड दिएको छ। कम्तीमा महिनामा एकपटक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। नयाँ तथा साना लगानीकर्तालाई शेयर बजारको जोखिम, लगानी प्रक्रिया र आधारभूत जानकारी उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
यसैगरी, शेयर बिक्री गरेपछि लगानीकर्ताले निर्धारित टी प्लस २ अर्थात् दुई कार्यदिनभित्र रकम प्राप्त गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ। कारोबार सम्पन्न भएपछि रकम प्राप्त गर्न अनावश्यक ढिलाइ नहोस् भन्ने उद्देश्यले उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न लागिएको बोर्डले जनाएको छ।






Leave a Reply