
काठमाडौं -साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। गत शुक्रबार पनि सामान्य अंकले घटेको बजारले सोमबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले घटेका छन्।
सूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ। गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा सोमबार ३५० स्टकको ५६ हजार ८१८ पटकको कारोबारबाट १ करोड १९ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कुल कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँ पुगेको छ।
सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ५९ रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसा पुगेको छ भने माउन्ट एभरेष्ट पावरको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसा पुगेको छ।
त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स र सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ६.६३ प्रतिशतले घटेको छ, जुन यस दिनको सर्वाधिक गिरावट हो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी सोलु हाइड्रोपावरको करिब साढे ३८ करोड रुपैयाँ र रिडी पावर कम्पनीको करिब साढे १६ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढ्दा आठ उपसमूहको परिसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले बढेको छ। जलविद्युत, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूह पनि सामान्य अंकले उकालो लागेका छन्।
यता, वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले घटेको छ।






Leave a Reply