
नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभन्ज्याङमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे टोखा–छहरे सडकखण्डमा दुर्घटना भएको हो।
काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा १ ख ०८–००१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकिएको अवस्थामा चालक तथा यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो। गुडेको बसले सडकछेउमा रोकिराखेको बा ३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय भ्यानलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुवै सवारीसाधन सडकबाट करिब ३० देखि ४० मिटर तल खसेका छन्।
दुर्घटनामा बसमा सवार काभ्रेपलाञ्चोकको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ।
दुर्घटनामा सुजता पोखरेलको दाहिने हात, सर्मिला श्रेष्ठको बायाँ हात तथा ज्ञानु श्रेष्ठको टाउको र ढाडमा चोट लागेको छ। घाइते तीनै जनाको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले बस चालक काभ्रेपलाञ्चोकको पाँचखाल–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
बस रोकिएपछि यात्रुहरू खाजा खान गएको हुँदा दुर्घटनाका बेला बसमा कति जना यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।






Leave a Reply