
काठमाडौं -साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य गिरावटसँगै बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १.२० अंकले घट्दै २,६८४.३३ विन्दुमा कायम भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले सुधारिएको छ। त्यसैगरी फ्लोट इन्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१७ अंकले वृद्धि भएको देखिएको छ।
परिसूचकमा सामान्य कमी आए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। सोमबार ३४९ कम्पनीका १ करोड १४ लाख ४९ हजार कित्ता शेयर ६३ हजार ६४८ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार भने ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
शेयर मूल्य वृद्धितर्फ एभरेष्ट कलर लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको शेयर मूल्य १९६ रुपैयाँ ३० पैसा बढ्दै १,५०५ रुपैयाँ ६० पैसामा पुगेको छ, जसले लगातार सकारात्मक सर्किट कायम गरेको हो। त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ११.५ प्रतिशतभन्दा बढी र महुली लघुवित्त वित्तीय संस्थाको ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य सबैभन्दा धेरै ७.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा पनि रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रह्यो, जहाँ २७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहतर्फ १३ मध्ये ८ उपसमूह हरियालीमा बन्द भएका छन् भने ५ उपसमूहमा सामान्य गिरावट देखिएको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहमा सुधार देखिँदा अन्य उपसमूहहरू सामान्य दबाबमा रहेका छन्।






Leave a Reply