
काठमाडौं, लगातार ६ कारोबार दिनसम्म उकालो लागेको शेयर बजारमा बुधबार करेक्सन देखिएको छ। पछिल्ला दिनहरूको तीव्र वृद्धिपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेसँगै बजार परिसूचक र कारोबार दुवै घटेका हुन्।
यसअघि लगातार ६ कारोबार दिनमा नेप्से परिसूचक १५६.३ अंकले बढेको थियो। बुधबार भने नेप्से १३.९५ अंकले घटेर २,७१२.५४ बिन्दुमा बन्द भयो।
यससँगै सेन्सेटिभ इण्डेक्स २.१० अंक, फ्लोट इण्डेक्स ०.७७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले ओरालो लागे।
कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४६ वटा स्टकका ५६ हजार ९४ कारोबारमार्फत १ करोड १३ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा सीमित रह्यो।
व्यक्तिगत कम्पनीतर्फ एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किटमा कारोबार भयो। कम्पनीको शेयर ६४ रुपैयाँ २० पैसा बढेर ४९२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भयो। त्यसैगरी बुंगल हाइड्रोको शेयर मूल्य १०.५ प्रतिशतले बढ्दा सालपा विकास बैंकको शेयर करिब ६ प्रतिशतले उकालो लाग्यो। यता ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६को मूल्य भने सबैभन्दा धेरै ७.१६ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ४२ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत प्रदर्शनमा १३ मध्ये केवल दुई उपसमूह हरियालीमा रहे भने ११ उपसमूह घटेर बन्द भए। वित्त तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य वृद्धि देखियो। सबैभन्दा ठूलो गिरावट व्यापार उपसमूहमा २.६० प्रतिशत रह्यो भने निर्जीवन बीमा उपसमूह १.२६ प्रतिशतले घट्यो।






Leave a Reply