काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र विस्तारका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको जानकारी दिइयो। साथै, लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन पनि सम्बन्धित मन्त्रालयलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।
छलफलका क्रममा उद्योगीहरूले तयारी पोसाक उद्योगको प्रवर्द्धनका लागि ‘ग्रिन गार्मेन्ट भिलेज’ स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। उक्त प्रस्तावप्रति प्रधानमन्त्रीले सकारात्मक धारणा व्यक्त गर्दै पोसाक निर्यात क्षेत्रमा देखिएका विभिन्न चुनौती समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादन वृद्धि, उद्योग विस्तार तथा निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत र संस्थागत पहललाई अघि बढाइने विश्वास पनि बैठकमा व्यक्त गरिएको थियो।
तयारी पोसाक उद्योगलाई नयाँ गति दिने सरकारी तयारी, टेक्सटाइल विकासका लागि संस्थागत पहल अघि बढ्ने




