काठमाडौं ,साताको पहिलो कारोबार दिन शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। लगातार पाँचौं कारोबार दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ४१.७० अंकले उकालो लाग्दै २,७१९.२४ विन्दुमा पुगेको हो। यससँगै नेप्से पुनः २७०० विन्दुभन्दा माथि उक्लिएको छ।

बजारसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। शुक्रबारको ४ अर्ब ५७ करोड रुपैयाँको तुलनामा सोमबार ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार कित्ता शेयर ६७ हजार १५५ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
सोमबार एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लाग्दै ४८ रुपैयाँ ५० पैसा बढेर ३७२ रुपैयाँ ४० पैसामा पुगेको छ। त्यस्तै, रिज लाइन इनर्जीको शेयर १४.५ प्रतिशतभन्दा बढी र श्रीनगर एग्रीटेक इण्डस्ट्रिजको शेयर करिब ११ प्रतिशतले उकालो लागेको छ। विपरीत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै २९ करोड १५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको करिब २४ करोड ५० लाख रुपैयाँ र रिडी पावर डेभलपमेन्टको २० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शनमा १३ मध्ये १२ उपसमूह हरियालीमा रहे। उत्पादन तथा प्रशोधन उपसमूह ३.२१ प्रतिशतले सर्वाधिक बढ्दा जलविद्युत र अन्य उपसमूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि देखियो। विकास बैंक, होटल तथा पर्यटन, लगानी तथा व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागे। म्युचुअल फन्ड उपसमूह भने सामान्य गिरावटसहित बन्द भएको छ।




