Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एकै वर्षमा पाँच लाख ४१ हजार घरजग्गा कारोबार, सरकारको राजस्व ६० अर्ब ७३ करोड

काठमाडौं — गत आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गा कारोबारमा सामान्य वृद्धि भए पनि त्यसबाट सरकारले उठाएको राजस्व उल्लेख्य रूपमा बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — गत आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गा कारोबारमा सामान्य वृद्धि भए पनि त्यसबाट सरकारले उठाएको राजस्व उल्लेख्य रूपमा बढेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर ५ लाख ४१ हजार ३०० वटा घरजग्गा खरिद–बिक्री भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ लाख ३८ हजार १२० वटा कारोबार भएकाले कारोबार संख्या ०.५९ प्रतिशत मात्रै बढेको देखिएको छ।

विश्लेषकहरूका अनुसार वर्षभर विभिन्न राजनीतिक गतिविधि, आन्दोलन तथा निर्वाचनको प्रभावले घरजग्गा बजार अपेक्षाअनुसार विस्तार हुन सकेन। यद्यपि सरकारले मंसिर महिनादेखि कित्ताकाट खुला गरेपछि कारोबारमा सुधार देखिएको थियो। त्यसयता अधिकांश महिनामा कारोबार औसतभन्दा माथि पुगे पनि वार्षिक रूपमा उल्लेख्य वृद्धि हुन सकेन।

महिनागत तथ्यांकअनुसार साउनमा ३१ हजार ६२१, भदौमा २७ हजार ४९४, असोजमा २३ हजार ३५३ र कात्तिकमा २८ हजार ३८३ वटा कारोबार भएका थिए। मंसिरमा कारोबार बढेर ५१ हजार ६३२ र पुसमा ५१ हजार ८८८ पुगेको थियो। माघमा ५० हजार ८३७ कारोबार हुँदा फागुनमा निर्वाचनको प्रभावका कारण ३६ हजार ४७१ मा झरेको देखिन्छ। त्यसपछि चैतमा ५५ हजार ५३१, वैशाखमा ५८ हजार ८८६, जेठमा ५४ हजार ७२४ र असारमा सबैभन्दा धेरै ७० हजार ४८० वटा घरजग्गा कारोबार भएका छन्।

कारोबारमा सामान्य वृद्धि भए पनि राजस्व संकलनमा भने उल्लेख्य सुधार देखिएको छ। विभागका अनुसार घरजग्गा कारोबारबाट सरकारले गत आर्थिक वर्ष ६० अर्ब ७३ करोड ७२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो राजस्व ४९ अर्ब ४ करोड ६० लाख ४५ हजार रुपैयाँ रहेको थियो। यसले वार्षिक रूपमा २३.८३ प्रतिशत राजस्व वृद्धि भएको देखाउँछ।

कारोबार संख्या धेरै नबढे पनि जग्गाको मूल्य वृद्धि तथा बिक्री गर्दा प्राप्त नाफाका कारण राजस्व बढेको अनुमान गरिएको छ। घरजग्गा खरिद–बिक्रीसँग सम्बन्धित विभिन्न कर शीर्षकबाट उक्त राजस्व संकलन भएको विभागले जनाएको छ।

महिनागत रूपमा हेर्दा साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ, भदौमा ३ अर्ब १४ करोड ७ लाख रुपैयाँ, असोजमा २ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ, कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ, मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ, माघमा करिब ५ अर्ब रुपैयाँ, फागुनमा ४ अर्ब १४ करोड ९५ लाख रुपैयाँ, चैतमा ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ, जेठमा ५ अर्ब २४ करोड ४२ लाख रुपैयाँ र असारमा सबैभन्दा बढी ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

तथ्यांकले आर्थिक वर्षको अन्तिम महिना असारमा घरजग्गा कारोबार र त्यसबाट उठेको राजस्व दुवै उच्च रहेको देखाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/