Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा राजश्व संकलन १२ खर्ब २४ अर्ब, लक्ष्यको ८३ प्रतिशत पूरा

काठमाडौँ - चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन एक दिन बाँकी रहँदा सरकारले वार्षिक राजश्व लक्ष्यको करिब ८३ प्रतिशत रकम संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गते (बुधवार) सम्ममा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन एक दिन बाँकी रहँदा सरकारले वार्षिक राजश्व लक्ष्यको करिब ८३ प्रतिशत रकम संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गते (बुधवार) सम्ममा १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको हो।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो। हालसम्मको संकलन उक्त लक्ष्यको ८२.७६ प्रतिशत बराबर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजश्व संकलनमा उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को असार ३१ गतेसम्म ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। यस वर्ष सोही अवधिको तुलनामा ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ अर्थात् ७.४० प्रतिशतले वृद्धि भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

संकलित राजश्वमध्ये कर राजश्वको हिस्सा सबैभन्दा ठूलो रहेको छ। बुधवारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजश्व संकलन भएको छ, जुन वार्षिक कर राजश्व लक्ष्यको ८३.४३ प्रतिशत हो। यस्तै गैरकर राजश्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७६.९९ प्रतिशत बराबर हो। गत वर्षको तुलनामा कर राजश्व ७.३४ प्रतिशत र गैरकर राजश्व ८.०२ प्रतिशतले बढेको कार्यालयले जनाएको छ।

वैदेशिक अनुदान प्राप्तिमा पनि यस वर्ष सुधार देखिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ। यो लक्ष्यको ५८.५ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अवधिमा भने २३ अर्ब २० करोड १६ लाख रुपैयाँ मात्रै वैदेशिक अनुदान प्राप्त भएको थियो। यस आधारमा अनुदान प्राप्ति ३४.७५ प्रतिशतले बढेको देखिन्छ।

आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलन बढ्ने प्रवृत्ति यस वर्ष पनि कायम रहेको छ। असार ३१ गते एकै दिन सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। यसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको छ।

बिहीवार आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन भएकाले थप राजश्व संकलन हुने र वार्षिक लक्ष्य प्राप्तिको अनुपात अझै माथि पुग्ने अपेक्षा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/