spot_img
21.7 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रतल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको क्षतिपूर्ति निर्धारण

तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको क्षतिपूर्ति निर्धारण

तनहुँमा निर्माणाधिन १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रियाअन्तर्गत संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको छ । करिब २२७ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनाका लागि मुआब्जा निर्धारण समितिले आवश्यक निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले विद्युत्गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य आवश्यक संरचना निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य भौतिक संरचनाको क्षतिपूर्ति तय गरेको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले जग्गा अधिग्रहणसम्बन्धी कार्य अगाडि बढाउन आर.के. हाइड्रो इन्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि, काठमाडौंसँग ठेक्का सम्झौता गरेको छ ।

विसं २०८० फागुन ७ गते ठेक्का सम्झौता सम्पन्न भए पनि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा आयोजनाको निर्माण कार्य केही समय प्रभावित भएको थियो ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही क्षेत्र प्रभावित हुनेछन् ।

उत्पादित विद्युत् देवघाट गाउँपालिका–४ स्थित गाईघाटमा निर्माण गरिने अर्धभूमिगत विद्युत्गृहबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ। त्यसका लागि तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमार्फत विद्युत् राष्ट्रिय ग्रिडमा समाहित गरिने योजना रहेको छ ।

आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here