काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार पुनः ओरालो लागेको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारमा आज भने गिरावटसँगै कारोबार रकम पनि घटेको छ।
आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १.०९ अंकले घट्दा फ्लोट इण्डेक्स ०.४२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले ओरालो लागेको छ।
कारोबार रकमतर्फ पनि बजारमा कमी देखिएको छ। अघिल्लो दिन ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बिहीबार ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कुल ३५० कम्पनीका ९२ लाख ३१ हजार कित्ता शेयर ५८ हजार ३९१ पटक कारोबार भएका छन्।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट तहमा पुगेको हो। त्यस्तै, बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य करिब ८.५ प्रतिशतले वृद्धि भएको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, सप्ताकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। बैंकको शेयर मूल्य १३.५१ प्रतिशतले घटेर दिनकै सर्वाधिक गिरावटमा परेको हो।
कारोबार रकमका आधारमा सिटि होटल अग्रस्थानमा रह्यो। कम्पनीको २३ करोड ६३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि सेन्ट्रल फाइनान्सको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा बुंगल हाइड्रोको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये केवल दुई उपसमूह हरियो रहँदा ११ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ। सबैभन्दा बढी दबाब वित्त उपसमूहमा परेको छ, जसको परिसूचक १.४५ प्रतिशतले घटेको छ। त्यस्तै, व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
समग्रमा बिहीबारको कारोबारमा लगानीकर्ताको उत्साह केही कमजोर देखिँदा नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।




