spot_img
27.2 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ६ अर्ब नाघ्यो

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ६ अर्ब नाघ्यो

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला केही दिनदेखि जारी ओरालो प्रवृत्ति यस दिन पनि कायम रहँदा बजार परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा सीमित भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.२९ अंकले घट्दा फ्लोट इन्डेक्स ०.१२ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले ओरालो लागेको छ।

बजार परिसूचक घटे पनि कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल ३५७ कम्पनीका १ करोड २३ लाख ८२ हजार कित्ता सेयर ६३ हजार ७३२ पटक कारोबार भएका छन्।

कारोबारका क्रममा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा पुगेको छ। सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गरेका छन्। त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य झण्डै ११ प्रतिशतले वृद्धि हुँदा उपकार लघुवित्त वित्तीय संस्थाको मूल्य ७.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। कम्पनीको सेयर मूल्य ९.१६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा कृषि विकास बैंकको ‘८ वर्षे एग्रीकल्चर बण्ड’ सबैभन्दा अगाडि रह्यो। उक्त बण्डको करिब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ।

उपसमूहतर्फ हेर्दा १३ मध्ये ४ उपसमूह हरियालीमा देखिएका छन् भने ९ उपसमूह घटेका छन्। होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन तथा अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ। वित्त उपसमूह भने सबैभन्दा बढी प्रभावित बन्दै १.०१ प्रतिशतले घटेको छ।

समग्रमा बजार सूचक सामान्य रूपमा ओरालो लागे पनि कारोबार रकममा आएको वृद्धिले लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here