काठमाडौं, साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै नेप्से परिसूचक यस दिन पनि उकालो लागेको हो।
बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेर बन्द भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १.९३ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंकले बढेका छन्।

बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४७ वटा कम्पनीका ६२ हजार १४८ पटकका कारोबारमार्फत कुल ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ।
आजको कारोबारमा कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। उक्त कम्पनीको शेयर मूल्य ७४ रुपैयाँ ७० पैसाले बढेर ५७२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। साथै, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य करिब १५ प्रतिशतले वृद्धि भएको छ भने विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भने ५.१८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४४ करोड २३ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब २२ करोड रुपैयाँको कारोबार भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत सूचकतर्फ हेर्दा, १३ मध्ये ७ उपसमूहमा वृद्धि भएको छ भने ६ उपसमूह घटेका छन्। निर्जीवन बीमा उपसमूह सर्वाधिक ३.३७ प्रतिशतले बढेको छ। जीवन बीमा उपसमूह पनि साढे १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, अन्य उपसमूह भने सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ।




