काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से पुनः घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार पनि गिरावट आएको बजारले बुधबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ४६.७८ अंकले घट्दै २७९६.५७ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ८.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंकले ओरालो लागेको छ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। मंगलबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ। यस अवधिमा ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर १ लाख १५ हजार ५५० पटक खरिदबिक्री भएका छन्।
यस दिन सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको सेयर मूल्य ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
उता कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा भने रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ। सो कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम पनि ४९ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने केवल एक उपसमूह मात्रै बढेको छ। म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि देखिएको हो।
सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ, जसको परिसूचक ३.४० प्रतिशतले घटेको छ। त्यस्तै वित्त समूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।




