काठमाडौं — प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याएको समाचार सार्वजनिक भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च उछाल देखिएको छ। लगातार तेस्रो पटकसम्म परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि शेयर कारोबार स्वतः बन्द गरिएको हो।
कारोबार सुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेपछि नियमानुसार २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि दोस्रो पटक बजार खुल्ने बित्तिकै परिसूचक पुनः तीव्र गतिमा बढेर ५ प्रतिशत नाघेपछि पुनः ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।
नेपाल स्टक एक्सचेञ्जको प्रावधानअनुसार कुनै दिन परिसूचक ४ प्रतिशत बढेमा २० मिनेट, ५ प्रतिशत बढेमा ४० मिनेट कारोबार रोक्ने व्यवस्था छ। यदि परिसूचक ६ प्रतिशतले बढेमा सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिन्छ।
आज परिसूचक ६ प्रतिशतले बढ्दै २८७५ दशमलव ४३ बिन्दुमा पुगेर रोकिएको हो। बजारमा उल्लेखनीय उत्साह देखिँदा कुल ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
कारोबारका क्रममा २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने केवल १ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।
विश्लेषकहरूले नयाँ राजनीतिक समीकरण र लगानीकर्तामा देखिएको सकारात्मक मनोबलका कारण बजारमा यस्तो तीव्र वृद्धि देखिएको बताएका छन्।




