Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अल्लोबाट उद्यम गर्दै रुमका महिलाले गाउँमै सिर्जना गरे आयआर्जनको अबसर

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिलाले वन क्षेत्रमा पाइने अल्लोलाई आम्दानीको भरपर्दो स्रोतका रूपमा विकास गरेका छन्। अल्लोको पुवा प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गर्दै उनीहरू स्वरोजगार बन्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर…


विज्ञापनAdvertisement Banner
3 min read

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिलाले वन क्षेत्रमा पाइने अल्लोलाई आम्दानीको भरपर्दो स्रोतका रूपमा विकास गरेका छन्। अल्लोको पुवा प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गर्दै उनीहरू स्वरोजगार बन्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनेका छन्।

रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहकी अध्यक्ष मनकुमारी पुनका अनुसार हाल १२ जना महिला उद्यमी अल्लोबाट कपडा उत्पादनमा सक्रिय छन्। उहाँले प्रत्येक उद्यमीले वर्षमा करिब ४५ देखि १५० मिटरसम्म कपडा उत्पादन गर्ने र प्रतिमिटर पाँच सयदेखि सात सय पचास रुपैयाँसम्ममा बिक्री हुने जानकारी दिनुभयो।

उद्यमी हिमदेवी घर्तीले हिउँदको समयमा लेकाली जंगलबाट अल्लोको पुवा सङ्कलन गरी त्यसलाई प्रशोधन गरेर धागो बनाउने गरिएको बताउनुभयो। उहाँका अनुसार चाल्से सिस्नोको डाँठको बाहिरी भागबाट निकालिएको पुवालाई तातोपानीमा पकाएर रेसादार धागो तयार गरिन्छ। त्यसपछि तानको प्रयोग गरी कपडा बुन्ने काम गरिन्छ। घर्तीका अनुसार अल्लोबाट बनेका धागो र कपडा वातावरणमैत्री, टिकाउ, बलियो तथा मौलिक सीपमा आधारित भएकाले बजारमा यसको माग बढ्दै गएको छ। खेतीपाती र घरायसी कामबाट बचेको समयलाई उत्पादनमूलक कार्यमा लगाउँदा अतिरिक्त आम्दानी हुने र त्यसले परिवारको खर्च व्यवस्थापन तथा बालबालिकाको शिक्षामा सहयोग पुगेको उहाँको भनाइ छ।

अल्लोका कपडाबाट विभिन्न सामग्री उत्पादन गरेर उद्यमीहरूले व्यवसाय विस्तार गरिरहेका छन्। उद्यमी गौमाया पुनले ग्राहकको चाहनाअनुसार कोट, झोला, सपिङ ब्याग, सल, पछ्यौरा र पर्सजस्ता सामग्री तयार गरी बिक्री गर्दा आम्दानी वृद्धि भएको बताउनुभयो। पहिले परम्परागत शैलीका कुर्ता–सुरुवाल मात्र सिलाइने भए पनि अहिले नयाँ डिजाइनका उत्पादनले राम्रो बजार पाएको उहाँले उल्लेख गर्नुभयो।

गौमायाका अनुसार अल्लोबाट बनेको एउटा कोटको मूल्य करिब पाँच हजार रुपैयाँ पर्छ। रुम भ्रमणमा आउने पर्यटक तथा पाहुनाले स्मृतिचिन्हका रूपमा अल्लोका सामग्री खरिद गर्ने गरेका छन्। साथै बेनी, पोखरा, बागलुङ र कुश्मामा आयोजना हुने मेला तथा महोत्सवमार्फत पनि उत्पादनको प्रचारप्रसार र बिक्री भइरहेको छ। चाडपर्व तथा बिदाका अवसरमा गाउँ फर्किने प्रवासी नेपालीहरू समेत यस्ता उत्पादनका ग्राहक बन्न थालेका छन्।

मालिका गाउँपालिकाकी उद्यम विकास सहजकर्ता होमदेवी खत्रीले स्थानीय उद्यमीहरूलाई सीप अभिवृद्धि तालिम, तानलगायत आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरिएको बताउनुभयो। उहाँका अनुसार गरिबी निवारण कोष, उद्यम विकास कार्यक्रम तथा विभिन्न संघसंस्थाले तालिम, प्रविधि र पूर्वाधार निर्माणमा सहयोग पुर्‍याएका छन्। वडा नम्बर २ का अध्यक्ष उदयकुमार बुढाथोकीले सामूहिक रूपमा कपडा बुन्ने उद्यमीहरूको सुविधाका लागि साझा सुविधा केन्द्रको भवन निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय स्रोतमा आधारित उद्योगले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँमै रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कुनै समय जंगलमा उपयोगविहीन मानिने अल्लो अहिले रुमका महिलाको आर्थिक रूपान्तरणको आधार बनेको छ। सीप, मेहनत र सामूहिक सहकार्यको बलमा उनीहरूले गाउँमै दिगो आय-आर्जनको बाटो खोलेका छन्। स्थानीय उत्पादनको बजार विस्तार र प्रभावकारी प्रवर्द्धन हुन सके अल्लो उद्यमले ग्रामीण अर्थतन्त्रलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/