
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा र फिनटेक क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित तथा नवप्रवर्तनमुखी बनाउन पाँचवर्षे फिनटेक रणनीति (२०२६/२७–२०३०/३१०) सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको रणनीतिले नेपालको डिजिटल वित्तीय इकोसिस्टमलाई सुरक्षित, भरपर्दो, सर्वसुलभ र प्रविधिमैत्री बनाउने लक्ष्य अघि सारेको छ। डिजिटल वित्तीय सेवाको पहुँच विस्तारमार्फत वित्तीय समावेशीकरण बढाउने, वित्तीय गहिराइ विस्तार गर्ने तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने रणनीतिको मुख्य उद्देश्य रहेको छ।
रणनीतिले फिनटेक क्षेत्रको जिम्मेवार विकासका लागि नीतिगत सहजीकरण, प्रभावकारी नियमन, सुदृढ डिजिटल पूर्वाधार र नियामक निकाय तथा सम्बन्धित सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकतामा राखेको छ।
रणनीतिको प्रमुख आधार मध्ये पूर्वाधार विकासअन्तर्गत डिजिटल पूर्वाधारको आधुनिकीकरण तथा नियमन र सुपरिवेक्षणका लागि प्रविधिको विकासलाई समेटिएको छ। यसबाट डिजिटल वित्तीय सेवाको आधारभूत संरचना थप सक्षम र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
त्यस्तै, नीति, नियमन तथा सुशासनतर्फ फिनटेकमैत्री नियामकीय संरचना विकास गर्ने, बजारमा सहभागी सबै पक्षलाई समान प्रतिस्पर्धाको वातावरण उपलब्ध गराउने र सुरक्षित प्रणालीमार्फत डिजिटल वित्तीय सेवा सञ्चालन सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
फिनटेक इकोसिस्टम विकासलाई पनि रणनीतिले महत्वपूर्ण क्षेत्रका रूपमा अघि सारेको छ। यसअन्तर्गत डिजिटल वित्तीय सेवा तथा उत्पादनको दायरा विस्तार गर्ने, नयाँ प्रविधि र व्यवसायिक अवधारणामा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, डिजिटल वित्तीय साक्षरता बढाउने तथा नियामक निकायको प्राविधिक र संस्थागत क्षमता सुदृढ गर्ने लक्ष्य राखिएको छ।
रणनीतिले वित्तीय सेवाको लागत कम गर्न प्रविधि र नवप्रवर्तनको अधिकतम उपयोग गर्ने नीतिमा समेत जोड दिएको छ। डिजिटल वित्तीय प्रणाली विस्तारसँगै उत्पन्न हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वित्तीय स्थिरता कायम राख्ने विषयलाई पनि रणनीतिक प्राथमिकतामा राखिएको छ।
नयाँ रणनीतिले डिजिटल वित्तीय सेवाबाट प्रत्यक्ष लाभ पुर्याउनुपर्ने विभिन्न समूहलाई लक्षित गरेको छ। ग्रामीण क्षेत्रका बासिन्दा, महिला, युवा तथा बालबालिका, गिग इकोनमीमा संलग्न श्रमिक, साना तथा मझौला उद्यम, फिनटेक उद्यमी र हाल इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूलाई प्रमुख लक्षित समूहका रूपमा पहिचान गरिएको छ।
यस रणनीतिमार्फत नेपालमा प्रविधिमा आधारित वित्तीय सेवाको विस्तारसँगै पहुँच, प्रतिस्पर्धा, नवप्रवर्तन र वित्तीय सुरक्षाबीच सन्तुलन कायम गर्दै डिजिटल वित्तीय इकोसिस्टमलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।





Leave a Reply