
साताको कारोबारको मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ।
बजारमा देखिएको सकारात्मक प्रभावसँगै अन्य प्रमुख सूचकहरूमा पनि वृद्धि भएको छ। मंगलबार सेन्सेटिभ इण्डेक्स ९.१९ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ३.५६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१३ अंकले उकालो लागेको छ।
परिसूचकमा सुधारसँगै शेयर बजारको कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। सोमबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ पुगेको छ।
यस दिन कुल ३४७ स्टकको ७८ हजार ८६९ पटक कारोबार भएको थियो। उक्त कारोबारमा २ करोड ३ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सरकारले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ घोषणा गरेपछि लगानीकर्तामा सकारात्मक मनोविज्ञान देखिएको छ। कार्ययोजनाको घोषणासँगै पूँजी बजारप्रति लगानीकर्ताको विश्वास बढेको देखिँदा मंगलबार बजार परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको हो।
समग्रमा, सरकारी स्तरबाट पूँजी बजार सुधार तथा पुनरुत्थानका लागि अघि सारिएको योजनाले बजारमा सकारात्मक माहोल सिर्जना गरेको देखिएको छ।





Leave a Reply