काठमाडौं । नेपालका उद्योगहरू पछिल्ला वर्षहरूमा गहिरो संकटमा परेका छन्। औद्योगिक क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड मानिए पनि नीतिगत अस्थिरता, पूर्वाधार अभाव र बजार चुनौतीका कारण धेरै उद्योग बन्द भएका छन् भने बाँकी उद्योगहरू पनि क्षमताभन्दा कम उत्पादनमा सीमित छन्।
उद्योग विकासको पृष्ठभूमि
नेपालमा औद्योगिक विकासको सुरुवात २००७ सालपछि भएको हो। त्यसबेला राज्यको नेतृत्वमा चिनी, जूट, कपडा छाला जुत्ता, रबर, टायर र सिमेन्ट उद्योगहरू स्थापना गरिएका थिए। २०४६ सालपछि आर्थिक उदारीकरणसँगै निजी क्षेत्रलाई उद्योगमा प्रवेशको अवसर दिइयो। यसले साना तथा मझौला उद्योगहरूको संख्या बढायो।
तर राजनीतिक अस्थिरता, नीतिगत निरन्तरताको कमी र द्वन्द्वकालको असरले उद्योग क्षेत्र अपेक्षित रूपमा अघि बढ्न मात्र सकेन की करिब करिब तहसनहस हुने स्थितीमा पुग्यो ।
उद्योगहरूको वर्तमान अवस्था
हाल नेपालका उद्योगहरू मुख्यतः खाद्य प्रशोधन, कपडा, हस्तकला, जलविद्युत्, औषधि र सिमेन्ट क्षेत्रमा सीमित छन्। घरेलु तथा कुटिर उद्योगहरूले ग्रामीण अर्थतन्त्रलाई टेवा दिइरहेका छन् भने सूचना प्रविधि र जैविक कृषि जस्ता क्षेत्रहरू सम्भावनायुक्त देखिएका छन्।
औद्योगिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (GDP) मा करिब १५–१८ प्रतिशत मात्रै योगदान पुर्याइरहेको उद्योग क्षेत्र विद्युत् आपूर्तिको समस्या, उच्च ब्याजदर र पूँजी अभाव, सस्तो आयातित वस्तु, नीतिगत अस्थिरता: सीपयुक्त जनशक्ति विदेश पलायन जस्ता कारणहरू ले संकटमा परेका छन्:
उद्योग हरु बन्द हुनुका कारण
ऊर्जा संकट, बजार सानो हुनु, उत्पादन लागत उच्च हुनु र व्यवस्थापन कमजोरीका कारण धेरै उद्योग हरु बन्द भए। विशेषगरी चिनी, कपडा, कागज छाला जुत्ता, रबर, टायर र साना उत्पादन उद्योगहरू बन्द भए।यसमा सरकारी नीति को प्रमुख दोष देखिन्छ।
सरकारका प्रयास र सीमित उपलब्धि
सरकारले औद्योगिक नीति संशोधन, विशेष आर्थिक क्षेत्र स्थापना र वैदेशिक लगानी आकर्षणका प्रयास गरे पनि कार्यान्वयन कमजोर देखिएको छ। औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार र सहजीकरण अझै पर्याप्त छैन।
आगामी सम्भावना
जलविद्युत् उत्पादन वृद्धि भएसँगै उद्योगलाई सस्तो ऊर्जा उपलब्ध गराउन सकिने सम्भावना छ। उर्जा क्षेत्र आफैमा एक उद्योगको रुपमा फस्टाउदै गएको छ । कृषि आधारित उद्योग, सूचना प्रविधि र पर्यटनसँग जोडिएका उद्योगहरू भविष्यका सम्भावनायुक्त क्षेत्र मानिन्छन्।
नेपालको औद्योगिक क्षेत्र आज पुनर्जीवनको खोजीमा छ। स्थिर नीति, सस्तो ऊर्जा, सीपयुक्त जनशक्ति र लगानीमैत्री वातावरण तयार गर्न सके मात्र उद्योगहरूले गति लिन सक्ने देखिन्छ। उद्योग बलियो भए मात्र देशको अर्थतन्त्र आत्मनिर्भर बन्नेछ।
आशन्न प्रतिनिधि सभा निर्वाचनको सन्मुखमा एक अर्कामा आरोप प्रत्यारोप भन्दा पनि यस्ता मुद्धाहरुमा राजनीतिक दलहरु केन्द्रित हुनुपर्ने आजको आवश्यकता हो । तर मुलुकको विडम्बना यस्ता नीतिगत बहसहरु हुनुका अलवा कहाँ भिड लागेको छ को नेताका सामाजिक सञ्जालमा कति फलोअर्स बढे कति लाइक फेक र कति लाइक बास्तविक भन्दै गन्नमा एउटा ठुलो जमात व्यस्त भएको छ ।




