spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारपर्यटनसबै मौसममा पर्यटक तान्दै पोखरा, मनसुन पर्यटनले थपियो नयाँ उत्साह

सबै मौसममा पर्यटक तान्दै पोखरा, मनसुन पर्यटनले थपियो नयाँ उत्साह

पर्यटन व्यवसाय पूर्ण रूपमा मौसममा निर्भर थियो र बजारलाई ‘सिजन’ तथा ‘अफसिजन’ भनेर छुट्याइन्थ्यो। एक समय वर्षायाम र मध्य जाडोमा पोखराको पर्यटन क्षेत्र लगभग सुनसान हुने गर्थ्यो। अहिले भने अवस्था फेरिएको छ। पोखरा क्रमशः ‘सबै मौसममा पर्यटन’को अवधारणातर्फ अघि बढिरहेको छ। पर्यटन व्यवसायीहरू अहिले वर्षायामलाई ‘अफसिजन’ भन्नुभन्दा ‘लो–सिजन’ र मुख्य पर्यटकीय समयलाई ‘हाइ–सिजन’का रूपमा व्याख्या गर्न थालेका छन्।

पहिले असारदेखि भदौसम्मको वर्षायाम र पुस–माघको मध्य जाडोलाई पर्यटक कम आउने समय मानिन्थ्यो। त्यसबेला लेकसाइडका धेरै होटल तथा रेष्टुराँ बन्द रहने, कर्मचारीलाई बिदा दिने र विदेशी पर्यटक देखिनै मुस्किल हुने अवस्था थियो। अहिले भने वर्षायाममै होटलहरूको औसत अकुपेन्सी २० प्रतिशतसम्म पुग्ने गरेको छ भने मुख्य पर्यटकीय मौसममा यो दर ९५ प्रतिशतसम्म पुग्ने गरेको व्यवसायीहरू बताउँछन्।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार निजी क्षेत्र, सरकारी निकाय र सम्बन्धित सबै पक्षको संयुक्त प्रयासले पोखराको पर्यटन अहिलेको अवस्थामा पुगेको हो। उहाँका अनुसार विगतमा वर्षात् र जाडोमा लेकसाइडका अधिकांश होटल बन्दजस्तै हुन्थे र कतिपय व्यवसाय घरपरिवारकै सदस्यले मात्र सञ्चालन गर्थे। अहिले बाह्रैमास पर्यटकीय गतिविधि सञ्चालन हुन थालेपछि होटल क्षेत्रमा लगानी, रोजगारी र सेवाको स्तर उल्लेखनीय रूपमा बढेको छ। उहाँले पोखराको पर्यटन क्षेत्रमा करिब आठ खर्ब रुपैयाँ बराबरको लगानी रहेको अनुमान गर्नुभयो।

अध्यक्ष सुवेदीका अनुसार वर्षायाममा २० प्रतिशत अकुपेन्सी पनि सकारात्मक उपलब्धि हो। भारतीय, अन्य विदेशी तथा आन्तरिक पर्यटकको आगमनले ‘लो–सिजन’मा समेत पर्यटन क्षेत्र चलायमान रहन थालेको उहाँको भनाइ छ। असार १५ को रोपाइँ महोत्सवदेखि नयाँ वर्षको सडक महोत्सवसम्मका गतिविधिले वर्षभरि पर्यटक आकर्षित गर्न सहयोग पुगेको उहाँले उल्लेख गर्नुभयो। उहाँका अनुसार अहिले वर्षायाममै प्याराग्लाइडिङ सञ्चालन भइरहेका छन् र लेकसाइड क्षेत्रमा विदेशी पर्यटकको आवागमन निरन्तर देख्न सकिन्छ। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल वर्षभरि घुम्न योग्य गन्तव्य भएको सन्देश पोखराले दिन सफल भएको बताउनुभयो। उहाँका अनुसार मनसुन पर्यटनलाई लक्षित गरी विशेष प्रवद्र्धन गर्न सके भारतीय, आन्तरिक तथा अत्यधिक गर्मी हुने क्षेत्रका पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ। त्यसका लागि पोखरासम्मको हवाई सेवा विस्तार, गुणस्तरीय सडक सञ्जाल र पर्यटकीय पूर्वाधारमा राज्यले लगानी बढाउनुपर्ने उहाँको सुझाव छ।

उहाँले पर्यटकीय राजधानी पोखरालाई बाह्रैमास सक्रिय बनाउने गरी नीतिगत सुधार आवश्यक रहेको बताउँदै निजी क्षेत्रले गरेको ठूलो लगानीअनुसार प्रतिफल प्राप्त गर्न नसकेको धारणा व्यक्त गर्नुभयो। राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने र पर्यटन विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ छ। मुस्ताङ, मनाङलगायतका वर्षायाममा कम पानी पर्ने गन्तव्यलाई मनसुन पर्यटनसँग जोड्न सके पर्यटकको आकर्षण बढ्ने उहाँले उल्लेख गर्नुभयो। पर्यटकका लागि सुरक्षालाई प्राथमिक सर्त मान्दै उहाँले वर्षायाममा सडक, यातायात र पूर्वाधार सुरक्षित तथा व्यवस्थित रहेको सुनिश्चित गर्नु राज्यको जिम्मेवारी भएको बताउनुभयो।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले अत्यधिक गर्मी हुने भारत तथा मध्यपूर्वका मुलुकका पर्यटकलाई मनसुनका बेला नेपाल ल्याउन सके पर्यटन क्षेत्रलाई थप गति मिल्ने बताउनुभयो। उहाँका अनुसार कम वर्षा हुने देशका पर्यटकका लागि पोखराको हरियाली, बदलिँदो मौसम र प्राकृतिक दृश्य अद्वितीय अनुभव बन्न सक्छ। उहाँले मनसुन पदयात्रालाई थप प्रवद्र्धन गरी पोखरानजिकका पदमार्गमा पर्यटक पुर्‍याउन सकिने बताउनुभयो। हरिया डाँडापाखा, बुकीफूल, ग्रामीण जनजीवन, रिमझिम वर्षा र बादलबीच देखिने हिमाली दृश्यले मनसुन पर्यटनलाई विशेष बनाउने उहाँको भनाइ छ। उहाँले झरीमा हिँड्ने अनुभव, हिलोसँग सम्बन्धित साहसिक गतिविधि तथा वर्षायाममा ड्राइभिङ मन पराउने पर्यटकका लागि पनि पोखरा आकर्षक गन्तव्य बन्न सक्ने उल्लेख गर्नुभयो।

उहाँका अनुसार खर्च गर्न रुचाउने तथा फरक अनुभव खोज्ने पर्यटक मनसुन पदयात्राप्रति आकर्षित भइरहेका छन्। मुख्य रूपमा भारतीय पर्यटकलाई लक्षित गरेर प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउँदै यस वर्ष पोखरामा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको जानकारी दिनुभयो। आन्तरिक पर्यटन संस्कृतिको विस्तारले पनि पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्भावना हुँदाहुँदै पनि नेपालमा मनसुन पर्यटनलाई पर्याप्त प्राथमिकता नदिइएको बताउनुभयो। उहाँका अनुसार डोल्पा, मुस्ताङ, मनाङजस्ता उच्च हिमाली क्षेत्रमा वर्षायाममा पनि सहज रूपमा पदयात्रा सञ्चालन गर्न सकिन्छ। यसका लागि नीतिगत सहयोग, प्रभावकारी प्रवद्र्धन र सरकारी पहल आवश्यक रहेको उहाँले बताउनुभयो।

आचार्यका अनुसार वर्षायाम भनेपछि सडक बिग्रने, हिमाल नदेखिने र यात्रा असहज हुने धारणा अझै कायम रहेकाले मनसुन पर्यटन अपेक्षित रूपमा विस्तार हुन सकेको छैन। यातायात सुविधा र प्रचारप्रसारमा सुधार ल्याउन सके यो मौसम पनि पर्यटनका लागि लाभदायी बन्न सक्ने उहाँको विश्वास छ।

मनसुन पदयात्रामा बढ्दो आकर्षण

वर्षायाममा सामान्यतया पर्यटकीय गतिविधि घट्ने भए पनि केही गन्तव्यमा भने यही समय सबैभन्दा आकर्षक मानिन्छ। कास्कीको कोरी, बागलुङको ढोरपाटन र पूर्वी रुकुमको चुङ्ग्रीबुकीजस्ता स्थानमा मनसुन पदयात्राप्रति आकर्षण बढ्दै गएको छ। उच्च पहाडी क्षेत्रमा फूल्ने बुकीफूल, हरिया पाटन, खर्क, भेँडीगोठ, बदलिँदो मौसम र हिमाली दृश्य हेर्न धेरै पदयात्री वर्षायामको प्रतीक्षा गर्ने गरेका छन्।

हालै चुङ्ग्रीबुकी पुगेर फर्किएका पदयात्री सन्दीप शर्माले फूलले ढाकिएका पाटन, भेँडीगोठ र नजिकै देखिने हिमाली दृश्य त्यहाँका मुख्य आकर्षण भएको बताउनुभयो। उहाँका अनुसार छोटो पदयात्रामै पुग्न सकिने भएकाले पनि चुङ्ग्रीबुकीमा पर्यटकको आगमन बढेको छ। उहाँले मनसुन यात्रामा मौसमको पूर्वसूचना, बाढीपहिरोको जोखिम र आवश्यक तयारीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

यात्रा ब्लगर दिव्या ढकालका अनुसार ढोरपाटन र चुङ्ग्रीबुकीमा मनसुनका बेला देखिने बुकीफूल, विशाल पाटन, भेँडीगोठ र स्थानीय जनजीवनले पर्यटकलाई विशेष रूपमा आकर्षित गर्छ। चार–पाँच वर्षयता ढोरपाटनमा मनसुन पर्यटन उल्लेखनीय रूपमा बढेको छ भने सामाजिक सञ्जालले यसको प्रचारमा महत्वपूर्ण भूमिका खेलेको छ।

कास्कीको मादी गाउँपालिकामा रहेको कोरी पनि मनसुन पदयात्राको लोकप्रिय गन्तव्य बन्दै गएको छ। सिक्लेसबाट सुरु हुने पदयात्रा कपुचे हिमताल हुँदै करिब ३,८०० मिटर उचाइको कोरी लेकसम्म पुग्ने गर्छ। स्थानीय पर्यटन व्यवसायीका अनुसार दुई दिनमै पूरा गर्न सकिने यो पदमार्गमा वर्षायामका बेला विशेष चहलपहल देखिन्छ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा ऐतिहासिक वृद्धि

पोखरासँग जोडिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक पुगेका छन्। संरक्षण क्षेत्र आयोजनाका अनुसार सो अवधिमा पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको दुई लाख ७८ हजार ११३ को तुलनामा झण्डै दोब्बर हो।

आगन्तुकमध्ये सबैभन्दा धेरै तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटक रहेका छन्। त्यसपछि चीनबाट १२ हजार ५३९ र अमेरिकाबाट नौ हजार ८८४ पर्यटक आएका छन्। कुल १६९ देशका पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेको तथ्यांकमा उल्लेख छ। तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार १४५ र अन्य देशका एक लाख २४ हजार ३३१ पर्यटक रहेका छन्।

विशेषगरी भारतमा पोखरा, मुक्तिनाथ तथा आसपासका गन्तव्यको बढ्दो प्रचार, सहज यातायात र सामाजिक सञ्जालमार्फत भएको प्रवद्र्धनका कारण भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको हो। पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ दर्शनका लागि जाने गरेका छन् भने अन्य विदेशी पर्यटकले पदयात्रा अघि वा पछि केही समय पोखरामै बिताउने गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here