काठमाडौं – नेपाल राष्ट्र बैंक ले विभिन्न कोषमा रहेको रकम बैंकिङ प्रणालीमार्फत परिचालन गर्ने भएको छ। केन्द्रीय बैंकले ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले उक्त रकमका लागि बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ। इच्छुक बैंकहरूले फागुन १७ गते राति १२ बजेसम्म प्रस्तावित ब्याजदर पेश गर्नुपर्नेछ।
कुल लगानीमध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंकमा मुद्दति निक्षेपका रूपमा राखिनेछ। त्यसैगरी ९५ करोड १२ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ३१ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपका रूपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप लगानी सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म, ३६६ दिनका लागि हुनेछ। केन्द्रीय बैंकले आफ्नो कोषमा रहेको रकम बजारमा प्रवाह गर्दै वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्ने उद्देश्यले यस्ता निक्षेप लगानी गर्दै आएको छ।




