
काठमाडौं — गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका सातौँ तहका विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले बुधबार सूचना प्रकाशित गर्दै प्राविधिक तथा अप्राविधिकतर्फका अधिकृतस्तरका पदमा दरखास्त आह्वान गरेको हो।
आयोगको वार्षिक कार्यतालिकाअनुसार प्रदेश तथा स्थानीय तहबाट माग भई आएका रिक्त पदमा पदपूर्ति गर्न विज्ञापन खुलाइएको हो। गण्डकी प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐनबमोजिम विभिन्न विधिबाट कर्मचारी छनोट गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन, कार्यक्षमताको मूल्याङ्कन, अन्तरतह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी छनोट गरिनेछ। प्रदेश निजामती सेवा र स्थानीय सेवातर्फ बढुवाका माध्यमबाट समेत विभिन्न पदमा पदपूर्ति गरिनेछ।
बढुवातर्फ इन्जिनियर, कृषि अधिकृत, पशु विकास अधिकृत, शाखा अधिकृत, प्रशासकीय अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा जनस्वास्थ्य अधिकृतलगायतका पद समावेश छन्।
त्यसैगरी, अन्तरतह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत सिभिल इन्जिनियर, नापी अधिकृत, कृषि अधिकृत, पशु चिकित्सक, शिक्षा अधिकृत, नर्सिङ अधिकृत, मेडिकल रेकर्ड अधिकृत, फिजियोथेरापिस्ट तथा रेडियोग्राफी टेक्नोलोजिस्टलगायतका प्राविधिक पदमा पनि दरखास्त माग गरिएको छ।
अप्राविधिकतर्फ प्रशासकीय अधिकृत, लेखा अधिकृत, राजस्व अधिकृत र आन्तरिक लेखा परीक्षण अधिकृतका पदमा समेत विज्ञापन खुलाइएको छ। यसका अतिरिक्त कम्प्युटर इन्जिनियर पदमा पनि कर्मचारी पदपूर्ति गरिने आयोगले जनाएको छ।
विभिन्न सेवा, समूह तथा पदमा कर्मचारी छनोटका लागि खुलाइएको विज्ञापनले प्रदेश र स्थानीय तहमा रिक्त रहेका जनशक्ति पूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





Leave a Reply