
काठमाडौं -धादिङको कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरेर पछिल्लो तीन दिनमा ८७ हजार ८ सय ७७ एलपी ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा ल्याइएको छ।
नेपाल आयल निगमका अनुसार १८ भदौमा २४ हजार ४ सय ९४, १९ भदौमा ३४ हजार १ सय ३४ र २० भदौमा २९ हजार २ सय ४९ सिलिन्डर काठमाडौं भित्रिएका हुन्।
मुख्य सडकखण्ड नियमित सञ्चालनमा आउन समय लाग्ने अवस्था रहेकाले तत्कालका लागि वैकल्पिक मार्गमार्फत ग्यास आपूर्ति व्यवस्थालाई निरन्तरता दिइने निगमले जनाएको छ।
निगमका अनुसार तराई क्षेत्रमा रहेका उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक सडकमार्ग हुँदै काठमाडौं उपत्यकामा ल्याउने र बिक्री वितरण गर्ने व्यवस्था सडक नियमित नहुँदासम्म जारी रहनेछ।
यसबाट कृष्णभिर खण्डमा देखिएको सडक अवरोधका कारण उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिइएको निगमको भनाइ छ।






Leave a Reply