पछिल्ला दुई दिनमा संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ईरानी मिसाइल तथा ड्रोन आक्रमणका कारण तीन जना विदेशी कामदारको मृत्यु भएको पुष्टि भएको छ।
मृत्यु हुनेमा पाकिस्तान, नेपाल र बंगलादेशका नागरिक रहेका छन्। अधिकारिहरूका अनुसार कुल ५८ जना विभिन्न देशका नागरिक तथा बासिन्दा सामान्य घाइते भएका छन्। घाइतेमध्ये इमिरेटि, इजिप्सियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमेनी, युगान्डाली, एरिट्रियन, लेबनानी तथा अफगानी नागरिकहरू रहेका छन्। सबै घाइतेको अवस्था स्थिर रहेको जनाइएको छ। रक्षा मन्त्रालयले जानकारी दिएअनुसार इरान बाट प्रहार गरिएका धेरैजसो ब्यालिस्टिक मिसाइल र ड्रोनहरू यूएईको हवाई सुरक्षा प्रणालीले अवरोध गरी निष्क्रिय पारेको थियो। यद्यपि केही अवशेष खस्दा नागरिक क्षेत्रमा क्षति पुगेको बताइएको छ। सरकारले नागरिकहरूलाई अफवाहमा नपर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ र आवश्यक सावधानी अपनाइएको जनाइएको छ।




