
काठमाडौंमा लामो समयदेखि खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको विशेष बिक्री अभियानअन्तर्गत शनिबार एकैदिन ६ हजार ८ सय २ वटा ग्यास सिलिन्डर बिक्री भएका छन्।
नेपाल आयल निगमले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा काठमाडौंका विभिन्न पाँच स्थानमा विशेष बिक्री केन्द्र सञ्चालन गरेको थियो। ग्यास नपाएका उपभोक्ता बिहान ८ बजेदेखि नै ती केन्द्रमा लाइन लागेका थिए।
निगमका अनुसार सबैभन्दा धेरै ग्यास टेकुस्थित निगम परिसरबाट बिक्री भएको छ। त्यहाँबाट २ हजार २ सय ९० वटा सिलिन्डर वितरण गरिएको थियो। पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट १ हजार ६ सय, कीर्तिपुरस्थित राधास्वामी केन्द्रबाट ७ सय ६२, चाबहिलको यातायात कार्यालय परिसरबाट ७ सय २० तथा बसुन्धरास्थित राधास्वामी केन्द्रबाट ६ सय वटा सिलिन्डर बिक्री भएका छन्।
यी पाँच प्रमुख केन्द्रबाट मात्रै ५ हजार ९ सय ७२ वटा सिलिन्डर बिक्री भएका थिए। यसबाहेक बालाजु काउन्टरबाट ५ सय तथा साल्ट ट्रेडिङका जडिबुटी र कालीमाटी काउन्टरबाट ३ सय ३० वटा सिलिन्डर बिक्री भएपछि कुल वितरण संख्या ६ हजार ८ सय २ पुगेको हो।
ब्रान्डअनुसार हेर्दा पाँच मुख्य बिक्री केन्द्रमा नेपाल ग्यासको माग सबैभन्दा बढी देखिएको छ। नेपाल ग्यासका १ हजार ७ सय ६० वटा सिलिन्डर बिक्री भएका छन्। एभरेष्टरसुगमका १ हजार ४३, एचपीका ७ सय ८०, हिमालका ५ सय ४०, सगरका ४ सय ६४ र श्रीराम ब्रान्डका ३ सय २७ वटा सिलिन्डर वितरण गरिएको निगमको तथ्यांकमा उल्लेख छ।
त्यस्तै एसटीसीका ३ सय २०, श्रीका २ सय ८०, ओमका १ सय ४०, भानुका ८०, साईबाबारश्रीकृष्णका ७०, श्रीमायाका ६२, लोकप्रियका ५३ र सूर्य ब्रान्डका ५३ वटा सिलिन्डर पनि उपभोक्तालाई बिक्री गरिएको छ।
एक महिनादेखि ग्यासको नियमित आपूर्ति नहुँदा समस्या भोगिरहेका उपभोक्तालाई लक्षित गरी सञ्चालन गरिएको यो बिक्री अभियानले तत्कालका लागि केही राहत दिएको देखिएको छ।






Leave a Reply