
पछिल्लो समयमा विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थाको समाधान, नागरिकको जिउधनको सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न सरकार योजनाबद्ध र निरन्तर रूपमा सक्रिय रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
आज मधेश प्रदेशका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिए। उनले नागरिकलाई अफवाहमा नलाग्न, संयमित रहन तथा शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरे।
सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिकमा विश्वास अभिवृद्धि गर्न, र राज्य र जनताबीच समन्वयको बलियो पुल बन्न पनि आग्रह गरे । प्रधानमन्त्री शाहका अनुसार सरकारको मुख्य प्राथमिकता प्रभावित नागरिकसम्म तत्काल पुगेर उनीहरूको सुरक्षा सुनिश्चित गर्नु, आवश्यक सहयोग उपलब्ध गराउनु तथा घटनाको निष्पक्ष छानबिन गर्नु हो। उनले शान्ति–सुरक्षा प्रभावकारी बनाउन र परिस्थिति थप जटिल हुन नदिन सरकारले बहुआयामिक रणनीति अवलम्बन गरेको बताए।
आपत्कालीन परिस्थितिमा जनताको घरघरमा पुगेर जनताको दु:ख–सुखमा साथ दिनु नै सांसदहरूको दायित्व भएको पनि प्रधानमन्त्री बालेनले छलफलका क्रममा सांसदहरूलाई स्मरण गराए ।






Leave a Reply