
काठमाडौं -लगातार चार कारोबार दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन सामान्य सुधारसहित बन्द भएको छ। शुक्रबार नेप्से १२.९६ अंकले बढेर २,६८५.५४ विन्दुमा पुगेको हो। यससँगै सेन्सेटिभ इन्डेक्स २.४४ अंक, फ्लोट इन्डेक्स १.०० अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले वृद्धि भएका छन्।
यस दिन बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३३७ स्टकको ४६ हजार ७५२ पटकको कारोबारमार्फत ८८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
शेयर मूल्य वृद्धितर्फ एभरेष्ट कलर लिमिटेड पुनः सकारात्मक सर्किटमा कारोबार हुँदै १७० रुपैयाँ ७० पैसा बढेर १,३०९ रुपैयाँ ३० पैसामा बन्द भएको छ। त्यसैगरी लक्ष्मी भ्यालु फण्ड २ को इकाई मूल्य ८ प्रतिशत तथा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ। यता, बोटलर्स नेपाल (तराई) को शेयर मूल्य भने ५.३३ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा परेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी १७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो। ग्लोबल आइएमई बैंकको १५ करोड रुपैयाँभन्दा बढी तथा सेन्ट्रल फाइनान्सको करिब १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ११ उपसमूह हरियालीमा रहे भने निर्जीवन बीमा र व्यापार उपसमूह मात्र घटेका छन्। अन्य सबै उपसमूहले सामान्य वृद्धि दर्ता गरेका छन्।






Leave a Reply