spot_img
21.4 C
Kathmandu
spot_img
Homeसमाचारयसरी भएको थियो भृकुटी स्टक ब्रोकिङबाट शेयर मूल्यमा चलखेल

यसरी भएको थियो भृकुटी स्टक ब्रोकिङबाट शेयर मूल्यमा चलखेल

काठमाडौं — भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. मार्फत शेयर बजारमा अस्वाभाविक कारोबार गरी शेयर मूल्यमा चलखेल गरिएको आरोपसहित जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. का कार्यकारी अध्यक्ष सन्दिप चाचन अग्रवाल तथा मुख्य लगानीकर्ता सुधा कर्ण र राजिव ठाकुरसहित अन्य व्यक्तिहरूको संलग्नतामा योजनाबद्ध रूपमा धितोपत्र बजारमा गैरकानुनी गतिविधि भएको दाबी गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६४/०९/१२ गते दर्ता नम्बर ५०२६९/०६४/०६५ मा दर्ता भई धितोपत्र दलाल व्यवसाय गर्दै आएको उक्त कम्पनीले शेयर खरिद बिक्रीसम्बन्धी परामर्श दिने, तालिम तथा गोष्ठी आयोजना गर्ने र धितोपत्र सम्बन्धी सूचना तथा मार्गनिर्देशन प्रदान गर्ने उद्देश्य लिए पनि व्यवहारमा कानुनी व्यवस्थाको उल्लङ्घन गरेको आरोप छ ।

कम्पनीका प्रमुख लगानीकर्तामध्ये सुधा कर्ण तत्कालीन हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको एकाघरकी पत्नी रहेको उल्लेख छ । कम्पनीमा २५ प्रतिशत शेयरसहित सन्दिप चाचन अग्रवाल प्रमुख कार्यकारी सञ्चालकको रूपमा रहेको देखिन्छ ।

अनुसन्धान प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको कारोबार विवरणको आधारमा भृकुटी स्टक ब्रोकिङ कम्पनीले अन्य प्रतिवादीहरूसँग मिलेर सक्रिय सहजीकरणकर्ताको रूपमा काम गरेको र योजनाबद्ध रूपमा कारोबार सञ्चालन गरेको देखिएको छ ।

धितोपत्र कारोबार सञ्चालनसम्बन्धी विनियम २०७५ अनुसार खरिद आदेश कार्यान्वयन हुँदा अनुमानित रकमको २५ प्रतिशत अग्रिम रूपमा लिनुपर्ने व्यवस्था भए पनि सो व्यवस्था पालना नगरी अन्य ग्राहकको रकम प्रयोग गरिएको आरोप छ । साथै अन्य ग्राहकको कारोबार रकम फछ्र्यौटमा समेत उक्त रकम प्रयोग गरिएको पाइएको उल्लेख छ ।

अभियोगअनुसार दीपक भट्टलगायतका व्यक्तिहरूका नाममा कुनै सुरक्षण बिना कोल्याटरल लोड गरी कृत्रिम रूपमा शेयर खरिद बिक्रीको वातावरण बनाइएको र नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीहरूको शेयरमा माग सिर्जना गरी मूल्य बढाउने प्रयास गरिएको दाबी गरिएको छ ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीले विभिन्न बीमा तथा वित्तीय संस्थासँग समन्वय गरी अग्रिम रकम माग गर्ने र सो रकमलाई शेयर खरिद बिक्रीमा प्रयोग गर्ने कार्य गरेको पनि उल्लेख छ । हिमालयन रिइन्स्योरेन्स लगायतका संस्थाबाट प्राप्त रकमलाई ग्राहकको कारोबार मिलानमा प्रयोग गरिएको तर सो रकम समयमा फिर्ता नभएको आरोप छ । अनुसन्धान अनुसार केही ग्राहक तथा संस्थाहरूको खातामा अस्वाभाविक रूपमा ठूलो रकम लोड गरी कृत्रिम कारोबार देखाइएको र त्यसको आधारमा बजारमा माग सिर्जना गरी शेयर मूल्य प्रभावित गरिएको निष्कर्ष निकालिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मार्जिन कारोबार सम्बन्धी अनुमति नलिएको अवस्थामा समेत उधारो कारोबार र पोर्टफोलियो व्यवस्थापन जस्ता गतिविधि गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । हिमालयन रिइन्स्योरेन्सलाई लेखिएको पत्रमा कम्पनीले करिब दुई अर्ब त्रिहत्तर करोड तेत्तीस लाख पन्ध्र हजार एक सय साठी रुपैयाँ पाँच पैसासम्मको अग्रिम रकम कारोबारका लागि प्राप्त भएको उल्लेख गर्दै सो रकम विभिन्न ग्राहकका नाममा शेयर खरिद बिक्रीमा प्रयोग गरिएको जनाएको छ ।

अनुसन्धानका क्रममा दीपक भट्ट, राज बहादुर शाह, शुभी अग्रवाल, ऋषिराज मोर लगायतका व्यक्तिहरूका नाममा रहेको कारोबार खातामा रकम फछ्र्यौट बाँकी रहेको देखिएको छ । विभिन्न संस्थागत लगानीकर्ता तथा बीमा कम्पनीहरूको रकमसमेत शेयर कारोबारका लागि प्रयोग भएको तथ्य खुलेको छ ।

सन्दिप चाचन अग्रवालले बयानका क्रममा आफूले विश्वासका आधारमा कारोबार गरेको र दीपक भट्टको आग्रहअनुसार शेयर खरिद बिक्री गरिएको दाबी गरेका छन् । साथै कोल्याटरल लोड गर्ने र रकम मिलान गर्ने प्रक्रिया ग्राहककै निर्देशनअनुसार भएको उनको भनाइ रहेको उल्लेख छ ।

अनुसन्धान प्रतिवेदन अनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत ७९ हजारभन्दा बढी ग्राहकले कारोबार गरेको देखिए पनि प्रमुख विवादित खाताहरू सीमित व्यक्तिहरूमा केन्द्रित रहेको पाइएको छ । कम्पनीको बैंक खातामा जम्मा भएको रकममध्ये ठूलो हिस्सा प्रतिवादी पक्षसँग सम्बन्धित देखिएको छ ।

प्रतिवेदनले करिब एक अर्ब १४ करोडभन्दा बढी रकमको हानी नोक्सानी भएको निष्कर्ष निकालेको छ । साथै भृकुटी स्टक ब्रोकिङ कम्पनीले अन्य प्रतिवादीहरूसँग मिलेर योजनाबद्ध रूपमा धितोपत्र बजारमा गैरकानुनी गतिविधि सञ्चालन गरेको ठहर गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here