spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारपोखरा महानगरपालिकाले सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी

पोखरा महानगरपालिकाले सुकुमवासी स्थानान्तरणका लागि जग्गा खोजी

पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुमवासी परिवारको स्थानान्तरणका लागि पोखरा महानगरपालिकाले जग्गाको खोजी कार्य गरिरहेको छ । जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले पोखरा महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले बताउनुभयो । “समितिलाई दिइएको जिम्मेवारीअनुसार जग्गा खोज्ने काम भइरहेको छ, तोकिएको समायावधिमा महानगरपालिकालाई प्रतिवेदन बुझाउँछौँ”, महानगरपालिकाले वडाध्यक्ष योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यमा वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं १९ का अध्यक्ष तोरण बानियाँ, वडा नं १४ का अध्यक्ष बोधराज कार्की, वडा नं २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, महानगरको नापी शाखाका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका प्रशासकीय अधिकृत टीकाराम बजगाईँ रहनुभएको छ ।

दश कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगरपालिकाले जनाएको छ । महानगरले बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराई आधुनिक सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको छ । बसपार्कको जग्गामा ५७२ सुकुमवासी तथा भूमिहीन परिवार बसोबास गर्दै आएका छन् ।

महानगरपालिकाले बसपार्कको जग्गामा रहेका सुकुमवासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्यतथ्य पहिचानको कामलाई पनि अगाडि बढाएको छ । वास्तविक सुकुमवासीलाई अन्यत्र स्थानान्तरण गरी बसपार्कको अतिक्रमित जग्गा खाली गराउने तयारीमा महानगरपालिका लागिपरेको छ ।

महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना हटाउन सार्वजनिक रुपमा सूचना जारी गरिसकेको छ । यही जेठ १० गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी १५ दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको थियो । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सघाउन सूचित गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफँैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ ।

विसं २०३२ मा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म पोखरामा व्यवस्थित बसपार्क बन्न सकेको छैन । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण परेर अहिले करिब ६० रोपनी क्षेत्रफलमा सीमित रहेको महानगरपालिकाले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here