काठमाडौं — दीपक भट्ट र सुलभ अग्रवाललाई सघाएको आशंकामा जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरीमाथि छानबिन गर्न समिति गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले गत वैशाख १ गते प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
भट्टलाई २०८२ चैत १९ गते तथा अग्रवाललाई चैत २२ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग आफ्नै हिरासत सुविधा नभएकाले दुवैलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो।
हिरासतमा रहेका बेला उनीहरूलाई मोबाइल फोन प्रयोग गर्न दिएको, भेटघाटमा विशेष सुविधा उपलब्ध गराएको तथा अन्य सहुलियत प्रदान गरिएको विषय सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै छानबिन प्रक्रिया अघि बढाइएको हो।
स्रोतका अनुसार समितिले हिरासत व्यवस्थापन, प्रहरीको भूमिकासहित विशेष सुविधा दिइएको आरोपबारे विस्तृत अनुसन्धान गर्नेछ। छानबिनका क्रममा सम्बन्धित प्रहरी कर्मचारीसँग बयान लिनुका साथै हिरासतको अभिलेख र सीसीटीभी फुटेजसमेत अध्ययन गरिने बताइएको छ।
प्रहरी प्रधान कार्यालयले छानबिन निष्पक्ष रूपमा अघि बढाइने जनाएको छ। समितिले प्रतिवेदन बुझाएपछि संलग्न देखिने प्रहरी कर्मचारीमाथि आवश्यक विभागीय कारबाही गरिने जनाइएको छ।




