काठमाडौं — नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।




