काठमाडौँ – मौसम पूर्वानुमान महाशाखा ले आज देशका विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखिएको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाले वर्षा, चट्याङ्ग र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।




