
काठमाडौं — नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंलाई लक्षित गरेर छुट्टै मिति तोकी नयाँ तथा खुद्रा नोट वितरण नगर्ने भएको छ । अब केन्द्रीय बैंकले नियमित कार्यालय समयमै बजारको माग र आवश्यकताअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध गराउने भएको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार विगतमा दसैंअघि निश्चित मिति तोकेर नयाँ तथा खुद्रा नोट सटही गर्ने अभ्यास यस वर्षदेखि परिवर्तन गरिएको हो ।
उनका अनुसार अब कुनै विशेष पर्वलाई लक्षित गरेर नयाँ नोट वितरण गर्नेभन्दा पनि राष्ट्र बैंकको नियमित कामअन्तर्गत नै नोट सटही सेवा उपलब्ध हुनेछ ।
दसैंका समयमा नयाँ नोटको माग उच्च हुने भएकाले विगतमा राष्ट्र बैंकले विशेष व्यवस्था गर्दै आएको थियो । तर, यस वर्ष बजारको माग र आवश्यकताका आधारमा नोट सटही गर्ने नीति लिइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकसँग पर्याप्त नोट मौज्दात रहेकाले मागअनुसार सटही सुविधा उपलब्ध गराइने दाहालले बताए । नयाँ नोटले माग धान्न नसकेको अवस्थामा सुकिला तथा चलनचल्तीमा रहेका नोटसमेत वितरण गरिनेछ ।
राष्ट्र बैंकको बैंकिङ काउन्टरबाट कार्यालय समयमा नियमित रूपमा नोट सटही गर्न सकिने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले समेत पर्याप्त नयाँ तथा खुद्रा नोट लगिसकेको र आफ्ना ग्राहकलाई वितरण गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।
हाल राष्ट्र बैंकमा नोट सटही गर्न जाने व्यक्तिले अधिकतम दुई बन्डलसम्म नोट साट्न पाउने व्यवस्था छ । एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटमध्ये प्रत्येक दरका १०० थान नोट रहनेछन् ।
राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि उपलब्धताका आधारमा नोट सटही गरिनेछ भने व्यापारिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोटसमेत सटही गर्न सकिने व्यवस्था गरिएको छ ।






Leave a Reply