Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पाल्पाका किसान दालचिनी खेती तर्फ आकर्सित

पाल्पा को तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया जानुभयो । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताउनुभएका उहाँले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्कनुभयो । विदेश जानुअघि गाउँमा…


विज्ञापनAdvertisement Banner
5 min read

पाल्पा को तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया जानुभयो । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताउनुभएका उहाँले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्कनुभयो । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उहाँ घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् । जीतबहादुर पनि दालचिनी खेती गर्छु भनि दालचिनी खेतीमा लाग्नु भयो ।

दालचिनी स्याहार्दै गर्नुभएका उहाँले भन्नुभयो, वार्षिक पाँचदेखि आठ लाख आफ्नै गाउँमा कमाइ हुँदोरहेछ । किन विदेश गइरहनु  विदेशमै रहेका छोरालाई पनि उहाँले घर बोलाएको बताउनुभयो । खरबारी, भिर, कान्लामा लगाएको दालचिनीबाट गत वर्ष आफूले सात लाख रुपैयाँको कारोबार गरेको र विदेश जाँदा लागेको ऋण समेत चुक्ता गरेको उहाँले बताउनुभयो ।

दमयन्ती दर्लामीले गत वर्ष छोराको बिहे गरिदिनुभयो । बिहेमा झण्डै दुई लाख रुपैयाँ ऋण लाग्यो । उक्त ऋणले दमयन्तीलाई निन्द्रा न भोक नै बनायो । ऋणकै कारण एक वर्षसम्म राम्रोसँग रातमा निदाउन नसकेकी दर्लामी हिजोआज भने राम्रैसँग निद्रा लाग्ने गरेको बताउनुहुन्छ । आफ्ना श्रीमान्ले बारीको काल्नाभरि चार वर्ष अगाडि लगाउनुभएको दालचिनीको पात र बोक्राबाट चार लाख रुपैयाँ हात प¥यो । ऋण पनि चुक्ता भयो, झन् केही रकम बचत पनि भएपछि आनन्दले निद्रा लागेको उहाँ आफ्नो अनुभव बताउनु भयो ।

सोही स्थानका टीकाराम ढाडाको पनि कथा र व्यथा उस्तै छ । गत वर्षको बर्खामा ओत लाग्ने बासै गयो । त्यही बास बनाउन उहाँले चार लाख रुपैयाँ ऋण लिनुप¥यो । त्यो ऋणले उहाँलाई पनि लामो समय बेचैन नै बनायो । भनिन्छ ‘दुख र अफ्ठ्यारोमा परेकाहरुको साथी भगवान हुन्छन्’ भने जस्तै त्यही वर्ष दालचिनी बिक्रीबाट झण्डै तीन लाख र तेजपात बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ हात प¥यो । त्यसले सन्तोषको श्वास लिन सकेको उहाँ सुनाउनुहुन्छ ।

रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेकी देवीका सारुकी ठूली छोरी कमलाको भविष्यमा नर्स बन्ने सपना थियो । छोरीको सपना पूरा गर्न उहाँँको पारिवारिक आर्थिक अवस्थाले पुग्दैनथ्यो । सारुले पाँच वर्षअघि आफ्नो बाँझो जग्गामा दालचिनी लगाउनुभएको थियो । दालचिनीबाट राम्रो आम्दानी हुन्छ भन्ने उहाँले कल्पनासमेत गर्नुभएको थिएनन् तर घरमै बुटवलबाट व्यापारी दालचिनीका बोक्रा लिन आएपछि उहाँले बल्ल यसबाट राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाउनुभयो । उहाँले गतवर्ष दालचिनीका पात र बोक्रा बिक्री गरेर रु पाँच लाख आम्दानी गर्न सफल हुनुभयो । त्यही आम्दानीबाट अहिले छोरीको नर्स बन्ने सपना पूरा गर्दै हुनुहुन्छ ।

अर्का एक ब्यति निस्दीको ज्यामिरेका खेमबहादुर सोतीले दुई लाख हालेर ल्याएको बेहुनी भैँसी गत वर्ष गोठमा भएको आगलागीमा परेर म¥यो । दूध र घ्यू बिक्रीबाट आम्दानी गर्ने सोच बनाएर झण्डै लाखौँँ खर्चेर भैँसी किनेर ल्याउनुभएका उहाँले भैंसी नै नरहेपछि त्यही भैंसी किन्दा लागेको ऋण तिर्नकै लागि भारत जाने तयारीमा हुनुहुन्थ्यो तर साथीभाइले खेर गएको तेजपातको बिक्रीबाट राम्रो कमाइ हुन्छ भनेपछि उहाँ रोकिनुभयो । नभन्दै गत वर्षको दसैँमा सोतीले तेजपात बिक्रीबाट तीन लाख रुपैयाँ हात पार्नुभयो । त्यही आम्दानीले भैँसीको ऋण तिर्न सकेको उहाँ बताउनुहुन्छ ।

यस ठाउँका धेरै किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटकको लगानी र कम मिहेनतमा पनि यहाँका किसानले वार्षिक पाँचदेखि आठ लाख रुपैयाँसम्म कमाउन सफल भएका हुन् । खेर गएको जग्गामा लगाएको दालचिनीका बोटबाट पात र बोक्रा बेचेर मनग्य आम्दानी गर्न सकिनेमा किसानहरु खुशि देखिन्छन् ।

अन्य खेती गर्न नसकिने जग्गामा पनि दालचिनीका बोट लगाएर आम्दानी गर्न सकिने कचलका व्यावसायिक कृषक थर्कबहादुर बगालेले बताउनुभयो । अन्य खेतीबाट भन्दा दालचिनीबाट फाइदा भएपछि खेतीयोग्य जग्गामा समेत मानिसले दालचिनीका बोट रोप्न थालेको उहाँले बताउनुभयो । दालचिनी मसला तथा औषधिजन्य तेल उत्पादनमा प्रयोग हुने कच्चा वस्तु हो । दुई रोपनी क्षेत्रफलमा लगाएको दालचिनीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । दालचिनी रोपेको तीन वर्षमै आम्दानी गर्न सकिने बगाले बताउनुहुन्छ । दालचिनीको बोक्रा र पातले समेत राम्रो मूल्य पाएपछि यहाँका किसानहरु यसतर्फ आकर्षित छन् ।

गाउँमा बस्न छाडेको र गाउँमा बसोबास गर्ने किसानका बालीसमेत बाँदरले खान थालेपछि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् । गाउँ छाडेर सहरमा बसाई गर्ने मानिसले समेत अचेल गाउँको खाली जग्गामा दालचिनीका बिरुवा रोप्न थालेका छन् । जिल्लाको रैनादेवी छहरास्थित खुर्सेनी, बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, भुवनपोखरी, तिनाउको कचल, दोभान, कोलडाँडा, सत्यवती, ज्यामिरे, बेरुवा, जन्तिलुङ्ग, माथागढीको झडेवा, जगाद गोठादी, भुटुके, रम्भा, पूर्वखोला, निस्दीको अर्चले, ज्यामिरे, भिरपानी, धवला, अदममारा, धनुबाँसलगायतका क्षेत्रबाट वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको बोक्रा र पात निकासी हुने गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/