
फ्लाइ दुबईले असोज ७ गतेदेखि दुबई–पोखरा नियमित हवाई सेवा सञ्चालन गर्ने भएको छ। विमानस्थल स्रोतका अनुसार उक्त दिन दुबईबाट उडेको फ्लाइ दुबईको जहाज साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
फ्लाइ दुबईले पोखरा–दुबई उडानका लागि एयरबस ३१९ र एयरबस ३२० प्रयोग गर्ने तयारी गरेको छ। स्रोतका अनुसार एयरबस ३१९ मा करिब १४० देखि १५० यात्रु तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु अट्ने क्षमता रहेको छ।
निर्धारित तालिकाअनुसार फ्लाइ दुबईको विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा आइपुग्नेछ भने साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि उडान भर्नेछ। यससँगै पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको दायरा थप विस्तार हुने अपेक्षा गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई पोखरा–दुबई उडान सञ्चालनका लागि अनुमति दिएको थियो। अनुमति पाएपछि कम्पनीले नियमित उडान सञ्चालनको तयारी अघि बढाएको हो।






Leave a Reply