
काठमाडौं — नेपाली महिलाको प्रमुख पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु भएको छ । भाद्र शुक्ल द्वितीयाका दिन आज बर्तालु महिलाले दर खाएर सोमबार मनाइने हरितालिका तीजको निराहार व्रतका लागि तयारी गर्दैछन् ।
तीजको पहिलो दिन माइती तथा दाजुभाइले चेलीबेटी, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत पौष्टिक तथा आडिला खानेकुरा खाने चलन छ । निराहार व्रत बस्नुपर्ने भएकाले व्रतअघिको दिन शक्ति सञ्चयका लागि दर खाने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
धर्मशास्त्रअनुसार भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाइसक्नुपर्ने मान्यता छ । तृतीयाका दिन महिलाले हरितालिका तीजको व्रत बस्छन् । तीजको अवसरमा महिलाले वर्षभरि आफूले भोगेका सुख–दुःख, पीडा र सामाजिक अनुभव गीत तथा भेटघाटमार्फत व्यक्त गर्ने परम्परा पनि रहिआएको छ ।
तीजमा बढ्दो तडकभडकप्रति चिन्ता
पछिल्ला वर्षहरूमा तीज मनाउने क्रममा बढ्दै गएको तडकभडक र प्रदर्शनप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । परम्परागत रूपमा व्रतको अघिल्लो दिन मात्रै खाने दर पछिल्लो समय महिनौँअघिदेखि नै आयोजना गर्ने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र भड्किलो कार्यक्रम गर्ने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ ।
महिनौँअघिदेखि दर खाने प्रवृत्तिले तीजको मौलिक संस्कृति कमजोर बनाउँदै लैजान सक्ने तथा आर्थिक रूपमा कमजोर परिवारमा अनावश्यक दबाब सिर्जना गर्ने उनीहरूको तर्क छ । सरकारी कार्यालय तथा विभिन्न संस्थाले समेत लामो समयअघिदेखि तीजका नाममा भड्किला कार्यक्रम आयोजना गर्न थालेकाले यसले विकृतिलाई थप संस्थागत बनाउने चिन्ता व्यक्त गरिएको छ ।
ऋषि पञ्चमीसम्म तीज पर्व
दर खाएर सुरु हुने तीज पर्व विभिन्न धार्मिक विधिसहित ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत तथा पूजा गरिन्छ भने चौथीका दिन गणेश भगवान्को पूजा गर्ने परम्परा छ । पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व सम्पन्न हुने धार्मिक मान्यता छ ।
यस वर्ष भदौ ३० गते मंगलबार गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइँदैछ । गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाउने र ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेको दिन मनाउने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
पार्वतीको तपस्यासँग जोडिएको तीजको इतिहास
हरितालिका तीजको पौराणिक सम्बन्ध भगवान् शिव र पार्वतीसँग जोडिएको छ । पुराणमा उल्लेख भएअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउने उद्देश्यले कठोर तपस्या गरेकी थिइन् ।
पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले पार्वतीलाई लुकाएर राखेको र त्यही स्थानमा उनले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ । साथीहरूले हरण गरेर लुकाएको र त्यहाँ पार्वतीले व्रत बसेको प्रसंगसँग जोडेर यस पर्वलाई ‘हरितालिका’ भनिएको मान्यता छ ।
तीजको अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । यस अवसरमा महिलाहरू माइती तथा आफन्तसँग भेटघाट गर्ने, सुख–दुःख साटासाट गर्ने र धार्मिक पूजा तथा व्रतमा सहभागी हुने गर्छन् ।
पछिल्लो समय तीज नेपालमा मात्रै सीमित नरही भारतका केही क्षेत्रमा समेत मनाउन थालिएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको विस्तारसँगै तीजका गीत तथा सांस्कृतिक गतिविधिको प्रचारसमेत व्यापक बन्दै गएको छ ।
तीजपछि नेपालीको अर्को प्रमुख पर्वका रूपमा बडादशैं र तिहार नजिकिँदै जाने भएकाले तीजलाई नेपाली पर्व–संस्कृतिको महत्वपूर्ण सुरुवाती पर्वका रूपमा समेत लिइन्छ ।






Leave a Reply