spot_img
26.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रव्यापार१० महिनामा झन्डै १७ खर्बको वस्तु आयात, व्यापार घाटा १४ खर्ब नाघ्यो

१० महिनामा झन्डै १७ खर्बको वस्तु आयात, व्यापार घाटा १४ खर्ब नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। यस आधारमा आयात १४.८२ प्रतिशतले वृद्धि भएको देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव नेपालको आयात व्यापारमा समेत परेको देखिन्छ। इन्धनको मूल्य बढेसँगै कुल आयात खर्च पनि उच्च बनेको हो।

यता, निर्याततर्फ पनि सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिमा निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ थियो। यसरी निर्यात १४.२५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

तर, निर्यातको तुलनामा आयात अत्यधिक उच्च हुँदा व्यापार घाटा अझै विस्तारिएको छ। समीक्षा अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ थियो। यसअनुसार व्यापार घाटा १४.९२ प्रतिशतले बढेको छ।

तथ्यांकले नेपालले विदेशबाट खरिद गर्ने वस्तुको मूल्य विदेशमा निर्यात गर्ने वस्तुभन्दा झन्डै ६.८ गुणा बढी रहेको देखाएको छ।

आयात र निर्यात दुवै बढेसँगै कुल वैदेशिक व्यापार पनि विस्तार भएर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ थियो। यसरी कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले वृद्धि भएको छ।

यद्यपि, नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी नै रहेको देखिन्छ। कुल व्यापारमा आयातको हिस्सा ८७.१८ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १२.८२ प्रतिशत मात्रै छ। गत वर्ष निर्यातको हिस्सा १२.८८ प्रतिशत रहेको थियो। यसले निर्यात बढे पनि कुल व्यापारमा यसको योगदान अपेक्षाकृत कम रहेको संकेत गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here