काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्म नेपालले करिब ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म कुल १४ खर्ब ४० अर्ब रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब रुपैयाँ घाटा भएको हो।
उक्त अवधिमा नेपालले १२ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशतले र निर्यात २९.८३ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।
छिमेकी मुलुकहरूसँगको व्यापार घाटा उच्च रहेको देखिएको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब रुपैयाँ घाटा भएको छ। भारतबाट ७ खर्ब २४ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। चीनसँग पनि २ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ, जहाँबाट २ खर्ब ७५ अर्ब रुपैयाँको आयात र ९८ करोड रुपैयाँको मात्र निर्यात भएको छ।
नेपालले अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि उच्च व्यापार घाटा व्यहोरेको छ। यद्यपि, रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्यासँग भने व्यापार नाफा भएको देखिन्छ।
आयाततर्फ पेट्रोलियम पदार्थ प्रमुख स्थानमा रहेका छन्। आठ महिनामा ८२ अर्ब रुपैयाँभन्दा बढी डिजेल, ४३ अर्ब रुपैयाँभन्दा बढी पेट्रोल र ३७ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ। साथै कच्चा भटमास तेल, स्मार्टफोन, फलामजन्य सामग्री, सुन र चाँदीको आयात पनि उल्लेखनीय रहेको छ।
निर्याततर्फ भने भटमास तेल अग्रस्थानमा रहेको छ, जसको निर्यात ७५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। त्यसपछि अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्।
समग्रमा, निर्यातमा सुधार देखिए पनि आयात उच्च रहँदा व्यापार घाटा अझै गम्भीर चुनौतीका रूपमा रहेको




