काठमाडौं — नेपाली शेयर बजारमा गिरावटको क्रम जारी रहँदै लगातार आज पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से ३४.६३ अंकले घट्दै २७०४.८ विन्दुमा पुगेर रोकिएको हो।
आजको कारोबारमा बजारसँगै कारोबार रकम पनि खुम्चिएको देखिएको छ। कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ, जुन अघिल्ला दिनहरूको तुलनामा कम हो।
कारोबारमा आएका ३४१ कम्पनीमध्ये २७ कम्पनीको शेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्रमा बजारमा नकारात्मक दबाब उच्च देखिएको छ।
आज १ करोड ७४ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। सबैभन्दा बढी कारोबार एनआरएन कम्पनीको भएको छ, जसको ३१ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नाफा कमाउनेतर्फ फरवार्ड माइक्रो फाइनान्स अग्रस्थानमा रहेको छ, जसका लगानीकर्ताले १५ प्रतिशतसम्म कमाएका छन्। त्यस्तै, झापा इनर्जीका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले नाफा आर्जन गरेका छन्।
यता, घाटा व्यहोर्ने कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ, जसका लगानीकर्ताले १२.५८ प्रतिशतसम्म गुमाएका छन्।




