काठमाडौं — टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आगामी वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको जनाएको छ।
यसअघि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी पूँजीको १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर वितरण गरिएको थियो। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ३ लाख ३ हजार ६७ कित्ता शेयर पनि बाँडफाँड भइसकेको छ।
अब कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर सुरक्षित गरी बाँकी २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन वैशाख २३ गतेदेखि खुला हुने र छिटोमा वैशाख २८ गते बन्द हुने कम्पनीले जनाएको छ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ६ गतेसम्म निष्काशन खुला रहनेछ।
यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरिएको छ।




