काठमाडौं — सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड ले आगामी वैशाख २१ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्ने जनाएको छ।
कम्पनीले आफ्नो ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरिसकेको छ। प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ८ लाख ५० हजार कित्ता सेयर सार्वजनिक गर्न लागिएको हो।
जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले यसमा आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने समय वैशाख २१ गतेदेखि वैशाख २४ गतेसम्म बैंकिङ समयभित्र रहनेछ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई नियुक्त गरिएको छ।




