काठमाडौं – कालिञ्चोक हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ आज बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडमार्फत बाँडफाँड गरिएको हो।
कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँड गरिसकेको थियो।
बाँकी रहेको सेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो। त्यसपछि बाँकी रहेको ६ लाख ८४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो।
उक्त आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। जसमध्ये २६ लाख ३५ हजार ६३४ जनाको आवेदन स्वीकृत भएको थियो। मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो।
बाँडफाँडको नतिजाअनुसार ६८ हजार ४७५ जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी २५ लाख ६७ हजारभन्दा बढी आवेदक भने सेयरबाट वञ्चित भएका छन्।
आईपीओमा अत्यधिक आकर्षण देखिँदा लगानीकर्ताको चाप उच्च रहेको देखिएको छ, जसले नेपाली पुँजी बजारमा जलविद्युत् कम्पनीहरूप्रति बढ्दो चासो झल्काएको छ।




