काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि खुला गरेको आईपीओमा लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीले आफ्नो जारी पूँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट भइसकेको छ।
उक्त चरणअन्तर्गत ४ लाख ७० हजार कित्ता सेयर स्थानीय बासिन्दाहरूलाई र ९४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिएको थियो। साथै, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर समेत छुट्याएर बाँडफाँट गरिएको छ।
हाल दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरेको हो। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इच्छुक लगानीकर्ताहरूले तोकिएका बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। समयसीमा सकिन लागेकाले आवेदन दिन बाँकी रहेका लगानीकर्तालाई आजै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।




