काठमाडौं – मोदी इनर्जी लिमिटेडका विभिन्न समूहका शेयरधनीहरूको शेयरमा लगाइएको ‘लक–इन’ अवधि आउँदो वैशाख ३० गते सकिन लागेको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल २ करोड ९० लाख कित्ता शेयरमध्ये केही समूहका शेयर निश्चित अवधिसम्म बेचबिखन गर्न नपाउने गरी ‘लक–इन’मा राखिएका थिए। कम्पनीले जानकारी दिएको छ कि अब ती शेयरधनीहरूले उक्त अवधि सकिएपछि आफ्नो शेयर कारोबार गर्न सक्नेछन्।
लक–इनमा राखिएका शेयरमा संस्थापक शेयरधनीहरूको २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीहरूको ७६ हजार ७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको ८ लाख ४ हजार ३९० कित्ता शेयर रहेका छन्। यसरी कुल २ करोड २६ लाख ३० हजार ४६० कित्ता शेयरको लक–इन अवधि सकिन लागेको हो।
तर, कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको शेयर भने प्रचलित नियमअनुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीको शेयरधनीहरूले वैशाख ३० गतेपछि शेयर बजारमा कारोबार गर्न सक्ने भएकाले लगानीकर्ताहरूको ध्यान मोदी इनर्जीको शेयरमा केन्द्रित हुने अनुमान गरिएको छ।




