काठमाडौं । बुधबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। अघिल्लो दिन सामान्य गिरावट आएको बजार यस दिन भने मजबुत रूपमा उकालो लाग्दै २८०० अंकको मनोवैज्ञानिक सीमाभन्दा माथि पुगेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ४५.१२ अंकले बढ्दै २८०२.५२ विन्दुमा पुगेको छ। सोही अवधिमा सेन्सेटिभ सूचक ५.७५ अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले वृद्धि भएको छ।
कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३४६ कम्पनीका ९८ हजार १६२ पटकका किनबेचबाट कुल ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस अवधिमा १ करोड ८८ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन्।
बजारमा यस दिन ७ कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक इण्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका सेयर मूल्य उच्च दरले बढेका हुन्। साथै, सान्भि इनर्जीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा धेरै ४.३५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहँदा उक्त कम्पनीको करिब ४६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम पनि ३७ करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत रूपमा हेर्दा बुधबार सबै १३ उपसमूहहरू हरियाली देखिएका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र जलविद्युत उपसमूहमा पनि २.५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त तथा निर्जीवन बीमा उपसमूहहरू पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।




