काठमाडौं – वर्ष २०८२ नेपालका लागि आर्थिक, वित्तीय र सुरक्षा क्षेत्र एकसाथ हल्लिएको चुनौतीपूर्ण वर्षका रूपमा दर्ज भएको छ। बैंकिङ्ग क्षेत्रले उच्च तरलता र न्यून ब्याजदरको दबाब झेल्दै सीमित सुधारसहित वर्ष टुंग्यायो भने पुँजी बजार अन्योल, राजनीतिक घटनाक्रम र लगानीकर्ताको कमजोर मनोबलका बीच उतारचढावमै अलमलियो।
नेपाल राष्ट्र बैंकको नेतृत्वमा डा. विश्वनाथ पौडेल नियुक्त भएसँगै मौद्रिक नीतिमा लचकता ल्याइए पनि ‘जेनजी आन्दोलन’ र प्राकृतिक विपत्तिले बैंकहरूको कर्जा असुली र वित्तीय सूचकमा गम्भीर असर पार्यो। आन्दोलनका क्रममा बैंक शाखा, एटिएम र निजी सम्पत्तिमाथि आक्रमण हुँदा कर्जा असुलीमा गिरावट र खराब कर्जा वृद्धि भएको देखियो।
यसैबीच, पहिलोपटक बहालवाला बैंकका सीईओ पक्राउ पर्ने, कर्मचारी संलग्न ठगी, बैंक लुटपाट र वित्तीय अनियमितता जस्ता घटनाले बैंकिङ्ग क्षेत्रको सुशासनमाथि प्रश्न उठायो।
पुँजी बजारतर्फ, नेप्से परिसूचक वर्षभर २५००–२९०० को दायरामा सीमित रह्यो। राजनीतिक अस्थिरता, नियामक विवाद र जेनजी आन्दोलनले बजारमा तीव्र गिरावट ल्यायो भने निर्वाचनपछि केही सुधारको संकेत देखियो। शेयर धितो कर्जाको सीमा हटाउने र नेप्से पुनर्संरचनाजस्ता नीतिगत कदमले आशा जगाए पनि स्थायित्व कायम हुन सकेन।
सुरक्षा र राजनीतिक क्षेत्रमा भने जेनजी आन्दोलन वर्षकै निर्णायक घटना बन्यो। आन्दोलन हिंसात्मक बन्दा सरकार ढल्यो, मध्यावधि निर्वाचन भयो र हजारौं कैदी फरार हुनेसम्मको अवस्था सिर्जना भयो। पूर्व प्रधानमन्त्री र उच्च सरकारी अधिकारीसमेत कानुनी घेरामा परे, जसले राज्य संरचनामाथि गम्भीर प्रश्न खडा गर्यो।
बीमा क्षेत्रमा पनि आन्दोलन र प्राकृतिक विपत्तिका कारण अर्बौंको दाबी परेको छ भने नियामक नेतृत्वको अस्थिरताले थप चुनौती थपेको छ।
समग्रमा, २०८२ साल नेपालका लागि संकट, अस्थिरता र सुधारको खोजीबीच बितेको वर्ष बनेको छ, जसले आगामी वर्षहरूका लागि नीतिगत सुधार र संस्थागत मजबुतीको आवश्यकता औंल्याएको छ।




